टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते


महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका-५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिप्रका महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जनकपुरतर्फबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा-१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।

सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा-५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । टाटासुमो पनि मटिहानी-४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ ।