आजै नयाँ मन्त्रिमण्डल गठन हुने दाबी
नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढङ्गले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिएका छन् ।
‘सत्ता गठबन्धन सङ्कटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ । गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ’, नेता ज्ञवालीले भनेका छन् । प्रधानमन्त्रीसँग नयाँ ढङ्गले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उनको भनाइ छ ।
यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भएको छ । अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुगेका थिए । अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिएका छन् ।
यसै सिलसिलामा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद गठन हुने जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत् उनले आज सानो मन्त्रिमण्डलले शपथ लिने उल्लेख गरेका छन् ।
file photo
प्रतिक्रिया