तीन मन्त्री विनाविभागीय
- सुरेन्द्र सुवेदी, काठमाडौं
नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटाएका नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सोमबार (आज) नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा चार सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले हालको मन्त्री परिषद् विघटन गर्दै उनकै नेतृत्वमा विनाविभागीय मन्त्रीहरु तीन जना नियुक्ति गर्दैछन् ।
एमालेबाट पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याललाई विनाविभागीय मन्त्री बनाउने तयारी छ । नयाँ विनाविभागीय मन्त्रीहरुको सोमबार साँझ सपथग्रहणको कार्यक्रम तय भएको छ ।
नुवाकोट-१ का सांसद तामाङ प्रचण्डका विश्वासपात्र हुन् । यस्तै, एमाले प्रमुख सचेतक गिरी अध्यक्ष ओलीनिकट हुन् । उनी यसअघि स्वास्थ्यमन्त्री भइसकेका छन् । रास्वपाका डोलप्रसाद समानुपातिक सांसद हुन् । उनी सभापति रवि लामिछानेका प्रियपात्र हुन् । यसअघि उनी श्रममन्त्री भइसकेका छन् ।
एमाले उच्च स्रोतका अनुसार जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि यो समिकरणमा सहभागी हुने भएका छन् । उनीहरुलाई अर्काे चरणमा मन्त्री नियुक्ति गर्ने तयारी छ ।
दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा कुरा भइरहेको बुझिएको छ । स्रोतका अनुसार तीन जनासम्म उपप्रधानमन्त्री रहनेछन् । ‘त्यसको टुंगो केही समयपछि लाग्नेछ’- एमालेका एक नेताले घटना र विचारसित भने ।
प्रतिक्रिया