प्रचण्ड र केपीका दुई सारथि, जसले पार लगाए डुङ्गा !

प्रचण्ड र केपीका दुई सारथि, जसले पार लगाए डुङ्गा !


वामपन्थी कम्युनिष्टहरूमाथि भरोसा राख्नुको परिणाम काङ्ग्रेस पार्टीले पुनः एकपटक भोग्नुपरेको छ । भित्रभित्रै कम्युनिष्ट नेताहरू बामपन्थी गठबन्धनको तयारी गर्दै थिए, विगत दुई महिनादेखि उनीहरू नयाँ गठबन्धन निर्माणमा सक्रिय रहिरहेका भएपनि काङ्ग्रेस नेताहरू बेखबर थिए । काङ्ग्रेसका नेताहरूलाई प्रचण्डमाथि यति भरोसा थियो कि यति चाँडै उनले डुङ्गा बदल्ने कल्पनासम्म पनि उनीहरूले गरेका थिएनन् ।

करिब दुई महिनाअगाडि नै प्रचण्ड र केपीबीच भेटवार्ता भएर सुरु भएको दुईपक्षीय सम्वादमा केपीले शङ्कर पोखरेल र प्रचण्डले वर्षमान पुनलाई नयाँ गठबन्धन निर्माणको गृहकार्य गर्न विशेष जिम्मेवारी सुम्पेका थिए । चालू गठबन्धन भत्काउन र नयाँ बनाउन बिष्णु पौडेललगायतका नेताहरू पनि सक्रिय नरहेका होइनन्, तर नेताहरूले दस्ताबेज तयार गर्नेदेखि सबै प्रकारको प्राविधिक एवम् राजनीतिक कार्यमा शङ्कर र वर्षमानलाई सहभागी गराउँदै आएका थिए । त्यसैले सोमबार राति (फागुन २० गते) बालुवाटारमा भएको दुईपक्षीय बैठकमा पनि शङ्कर र वर्षमानको फुर्तिफार्ति बेग्लै देखिन्थ्यो । प्रचण्ड र केपीपछि उनीहरू नै हर्ताकर्ता बनेका थिए ।

यसरी नेताद्वारा सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेबापत वर्षमान मन्त्री पदबाट पुरष्कृत हुँदैछन्, तर सांसद नरहेका शङ्करलाई केपीले कसरी पुरष्कृत गर्ने हुन्, प्रतीक्षाको विषय बनेको छ ।