हिमपातले चिसिएको मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु

हिमपातले चिसिएको मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु


मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा रानीपौवामा लेक लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुुसार मुक्तिनाथ जाने क्रममा लेक लागेर बिरामी भएका पटेललाई प्रहरीले उपचारका लागि जोमसोम अस्पताल पुऱ्याएको थियो । उनलाई अस्पताल ल्याइपुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए । प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो ।

मुक्तिनाथआसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ । हिमपातसँगै चिसो बढेको छ । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ ।