- सुरेन्द्र सुवेदी, काठमाडौं
राजधानीको बबरमहल बस्दै आएका पूर्व राजदूत केशवराज झाको २०७५ भदौ ६ गते हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा शंका लागेका व्यक्तिहरूको प्रहरीले पोलिग्राफ परीक्षण गऱ्यो । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गत असोज २३ गते गोली हानेर हत्या भएको घटनाको अनुसन्धानको क्रममा पनि पोलिग्राफ परीक्षण गरिएको थियो । त्यसैगरी काठमाडौंको रानीबारीस्थित इन्जिनियर दम्पत्ती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा शंकित व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरियो । यी परीक्षणले घटनाको अनुसन्धानमा निकै महत्वपूर्ण सहयोग पुऱ्यायो ।
यी तीन वटा घटनाका शंकित व्यक्तिहरूमा गरिएको पोलिग्राफ परीक्षण त प्रतिनिधिमात्र हो । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म १० वर्षको अवधिमा जम्मा २ हजार ७ सय ७८ मुद्दाका ५ हजार ४ सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा २ सय २५ जना, आर्थिक वर्ष २०७१/०७२ मा ४ सय ६८ जना, आर्थिक वर्ष २०७२/०७३ मा ३ सय ९१ जना, आर्थिक वर्ष २०७३/०७४ मा ५ सय ४३ जना, आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ८५ जना, आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ८८ जना, आर्थिक वर्ष २०७६/०७७ मा ८ सय ५९ जनाको परीक्षण भयो ।
यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ८१ जना, आर्थिक वर्ष २०७९/०८० मा ४ सय ८२ जना र चालु आर्थिक वर्षमा २ सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये नेपाल प्रहरीका २ सय ४१ जना, पूर्व प्रहरी कर्मचारी ६ जना, नेपाली सेनाका ४० जना, राष्ट्रिय अनुसन्धान विभागका ५ जना र सशस्त्र प्रहरी बलका २९ जना गरी जम्मा ३ जना २१ जना रहेका छन् ।
व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ हो । यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबभन्दा पुरानो प्रविधि हो । नेपाल प्रहरीमा २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी भीम ढकाल भन्छन्, ‘पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धान लगायत अन्य विभिन्न अनुसन्धान मा महत्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणले अनुसन्धानलाई निर्देशित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ । यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ । साथै समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कन समेत गर्ने गरिएको छ ।’
पोलिग्राफ परीक्षण प्रि-टेष्ट, टेष्ट र पोष्ट टेष्ट गरी ३ चरणमा गरिन्छ । यो परीक्षण संचालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनु पर्ने व्यवस्था छ । शंकित व्यक्तिले झुठ बोले/नबोलेको परीक्षणले संकेत गर्दछ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा १ सय ४३ वटा मुद्दाका २ सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये २ सय ६३ पुरूष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको संकेत १ सय ६ जना, झुठ नबोलेको संकेत १ सय ७० जना, राय दिन नसकेको अवस्था २ जना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त संकेत १ जनामा देखिएको छ ।
घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका व्याक्ति वा शंकित वा पीडित वा साक्षीले बोलेको कुराहरूको सत्यता परीक्षण गर्नको लागि पोलिग्राफको प्रयोग गरिन्छ । पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणहरूको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुराहरू पहिचान गर्न सकिन्छ । प्रवक्ता डिआइजी ढकाल भन्छन्, ‘आउँदा दिनमा पोलिग्राफको प्रयोग क्षेत्रलाई अझ फराकिलो बनाउँदै लगिने छ । त्यसका लागि साधनस्रोत र दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिइएको छ ।’
हाल केन्द्रीय पोलिग्राफ मातहत रहेर अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत ७ वटै प्रदेश प्रहरी कार्यालयमा पोलिग्राफ परीक्षण हुँदै आएको छ । पोलिग्राफ परीक्षणमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिएसपी नविनराज राईका अनुसार पोलिग्राफ परीक्षणलाई प्रभावकारी बनाउन यसका मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता अनूरूप परीक्षण गर्ने गरिएको छ र कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि र आधुनिक साधनस्रोत व्यवस्थापनका लागि समन्वय गर्ने गरिएको छ ।
प्रतिक्रिया