मन्त्रीको नाम टुङ्ग्याउन मधेसकेन्द्रित दल छलफलमा

मन्त्रीको नाम टुङ्ग्याउन मधेसकेन्द्रित दल छलफलमा


सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेसकेन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छ भने जसपाको कार्यकारिणी समिति बैठक भोलि बिहान ८ बजे बोलाइएको छ ।

उक्त बैठकले सरकारमा सहभागी मन्त्रीको नाम टुङ्गो लगाउने जानकारी दिँदै जसपाका प्रवक्ता मनिष सुमनले भनेका छन्, ‘आज दिउँसो ३ बजे गठबन्धनको बैठक छ । भोलि बिहान ८ बजे जसपा कार्यकारिणी समितिको बैठकले आफ्नोतर्फबाट सहभागी हुने मन्त्रीको निर्णय गर्नेछ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालबीच नयाँ सहकार्यका आठ बुँदामा सोमबार सम्बन्धित पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेका थिए ।

यता जनमत पार्टीले पनि गठबन्धन सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिएकाले नयाँ परिस्थितिमा पार्टीको रणनीति के हुने भन्नेबारे आधिकारिक धारणा तय गर्ने सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवको भनाइ छ । उनले मधेस प्रदेशमा मुख्यमन्त्रीलगायत विषयमा निचोड निकालेर सरकारमा सहभागी हुने/नहुनेबारे पार्टीले आजै निर्णय गर्ने जानकारी दिएका छन् ।

यसैबीच, लोसपा पनि नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीको धारणा बनाउन छलफलमा जुटेको छ । आज पनि बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहित शीर्षनेताहरुको बैठक बसेर निर्णय लिने सो पार्टीका महासचिव डा. सुरेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार आज बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लोसपाका अध्यक्ष ठाकुरले भेटवार्ता गरेका छन् । दुई नेताबीच मुलुकको समसामयिक परिस्थितबारे कुराकानी भएको बताइएको छ । ‘प्रधानमन्त्रीले यही गठबन्धन सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्नुभएको छ, लोसपा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरी निर्णय लिने जवाफ दिनुभएको छ’, अध्यक्ष ठाकुरलाई उद्धृत गरी महासचिव झाले भनेका छन् ।

File photo