एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल


नयाँ सत्ता गठबन्धनलाई बामदेवको समर्थन

नेकपा (एमाले)ले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराललाई चयन गरेको छ । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौला र बराललाई मंगलबार उक्त जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी नवगठित मन्त्रिपरिषदमा सदस्य (मन्त्री) बनेपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।

यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनप्रति समर्थन जनाएका छन् । मंगलबार एक विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै गौतमले समर्थन जनाएका हुन् ।

सोमबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले यो सत्ता समीकरणबाट सत्तास्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाएका छन् ।

एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही बाम एकताको अभियानमा लागेका छन् । हाल उनी राष्ट्रियसभाका सदस्य हुन् ।