घाटबेसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

घाटबेसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो


धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ६ पुरुष गरी सात जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन् । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको जानकारी दिँदै प्रउ गौतमले भनेका छन्, ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

photo: rss