आठ मार्चको कविता

आठ मार्चको कविता


✍ डिल्ली अम्माई (अनाथ अंकल)

तपाईंको कवितामा आमाको पसिना र रहरको गन्ध छ ?
दिदीबहिनीको आर्तनाद र आहतको ऐया छ ?
छैन भने त्यो कविता च्यातिदिनु ।

तपाईंको कवितामा सृष्टिको रगत छ ?
तपाईंको कवितामा सतीहरु जलेको कथा छ ?
छैन भने त्यो कविता गीत जलाइदिनु ।

तपाईंको पटकथाभित्र
चेलीको आँशु, जलाइएका सीता र सत्यवतीहरुको देह
बहिस्करणमा निचोरिएका फूलहरु
र, बोक्सीको घृणाले झारिएका आँशुहरुको तलाउभित्र
रिकुटेहरुले बलात्कार गर्दै गरेको घायल नारीको स्वर छ ?
अत्याचारको मयल पखाल्न नसकेर रुँदै न्याय मागेका
नमिता र सुनिताहरुको कम्पित आवाज छ ?
छैन भने ती सबै कीर्तिहरु नदीमा बगाइदिनु ।

तपाईंको कवितामा झुक्याएर फकाएर बेश्यालयमा बेचिन विवश नारीहरु
धर्मले मुख छोप्न बाध्य पारिएका दिदीबहिनी र आमाहरु।
नियतिको लेखा भन्दै मार्नेहरुप्रति घृणा छ ?
छैन भने त्यो कवितालाई आगोमा फ्याँकीदिनु ।

अनि,
कानुनको धार्मिक मेसिनले पिसिएका
चेलीहरुको कथा लेखिएको छैन भने
तसलिमा, लक्ष्मी बाई र मालालाको नाम लिँदा
कविको हात लगलगी काँप्छ भने
के कविता लेख्नु ?

क्रुप्स्काया, क्लारा जेट्किन, रुजा र आलेस्का
जसको नाम लिँदा जिउ थरथर हल्लिन्छ
र डीकोमा कोरिएका शब्दमा मसी लत्पतिन्छ भने
त्यस्तो कायर काब्य किन राख्नु ?

साहित्यले चेतनाको दियो जलाउन
संघर्षको झिल्का निकाल्न र
आमुल परिवर्तनको बाटो देखाउन सक्दैन भने,
त्यो साहित्यको मलामी जान अस्विकार गर्नु
कायरको मलामी बन्नु पनि युगमाथि धोका हो ।

आमाहरुको दशा बदल्ने चेत हुनुपर्छ आठ मार्चको कवितामा
युगलाई कायापलट गर्ने आगो हुनुपर्छ आठ मार्चको कवितामा
दलहनको कुर्ची भाँच्ने ताकत हुनुपर्छ आठ मार्चको कवितामा
दनदनी चेतनाको ज्वाला बल्नुपर्छ आठ मार्चको कवितामा ।

अब रत्यौलीको संगीत गाउन छोड आमा
अब रतिरागको धुन बजाउन छोड चेली
बोल इन्क्लाव,
गाउ ज्वालामुखीको संगीत।

युगले जेलेको पिंजडाभित्र केको रति राग ?
धार्मिक सत्ताको जेलखानाभित्र केको विलास ?
दलहन र दासताभित्र केको मनोरञ्जन ?
परदेशीका लास अगाडि केको अट्टाहास ?

आगो नबल्ने चुल्होमा खाजा पकाएजस्तै
घाम नलागेको बेला बिस्कुन सुकाएजस्तै
न्यायको मरुभूमिमा मलाई कविता रसाउनु छैन
भविष्यको उन्मुक्तिमा अझै दलहनको भारी छ
अन्याय, किनबेच र बलात्कार मलाई अझै भय छ ।

भालेको एक डाँकोले सुतेकोलाई जगाउन सक्छ भने,
छिनोमाथिको एक चोटले पहाड हल्लाउन सक्छ भने,
घायल आकाशको एक चट्याङले धर्तीमा कम्पन ल्याउन सक्छ भने,
समुन्द्रमा हावाको एक दौडले पुरै समुन्द्र हल्लाउन सक्छ भने
कलम त सबैसँग छ, आवाज दिने कलम समाऊँ
साहस र हिम्मत त सबैसँग छ, भोलिको चिराग जलाऊँ ।

तपाईं त आधि आकाशको मनपर्ने कवि मान्छे !
तपाईं त हुरीको कविता कोर्ने चरीजस्तै कवि मान्छे !
भालेको डाँकोलाई जागरणले तताउन
शब्द कोरेर आगो बाल्ने मान्छे ।

तपाईंको शब्दमा आवाज हुनु पर्ने हैन र ?
अचेल त आफ्नो मात्रै गुनासो गर्नुहुन्छ
गहना गुरिया र सपिङको मात्र गनगन,
तपाईंको आवाजले युग बोल्नुपर्ने हैन र ?

तपाईंको हरफ हरफले संसार ब्युझिनु र्ने हैन र ?
तपाईंको लयमा अन्यायको प्रलय हुनु पर्ने हैन र ?
कलमभित्रको मसीले आमाहरुको दुःख फोर्नुपर्ने हैन र ?
कि तेलियौ र आमा अचेल
कि फेरियौ र चेली अचेल ?

प्रिय नारीजन निवेदन गरेँ
तपाईंको लाभा ओकल्ने कलमले फूल नमारोस्
तपार्इंहरु सृष्टिको एक संगीत हो
हिम्मतिला गीत रच्ने कलमले श्वास नमारोस् ।

कवि महोदय, अचेल नि तपाईंका कवितामा..
कवितामा उठाउने आवाज हैन लोरी छ
उठेका मान्छे पुनः सुताउने लोरी,
जीवनलाई बिस्तारै मुर्छा पारेर मार्ने लोरी ।

एक सुतेर चिहानमा लाखौँ ब्युँतनुपर्ने कवितामा
मन्दविष, लठ्याउने र बिस्तारै मार्ने संगीत
केवल चिहानको शान्त मृत्यु धुन
यो हुन कदापि सक्दैन कवि

तपाईंको कवितामा सृष्टिको रगत छ ?
तपाईंको कवितामा सतीहरु जलेको भष्म छ ?
यो प्रश्न मेरो हैन युगको हो
युग ज्योति छैन भने त्यो कविता वा गीत जलाइदिनु ।

आमाहरुको दशा बदल्ने चेत हुनुपर्छ आठ मार्चको कवितामा
किनकि त्यो दिन चेतना रुपान्तरण हुने दिन हो
युगलाई कायापलट गर्ने आगो हुनुपर्छ आठ मार्चको कवितामा
किनकि त्यो दिन आमाहरुले बलिदान दिएको दिन हो।

दलहनको कुर्ची भाँच्ने ताकत हुनुपर्छ आठ मार्चको कवितामा
त्यो दिन आधि आकासले अधिकार खोसेका थिए ।
दनदनी चेतनाको ज्वाला बल्नुपर्छ आठ मार्चको कवितामा
उज्यालोले धर्तीमा जागरण बालेका थिए ।