- सुरेन्द्र सुवेदी, काठमाडौं
राजधानीको नागार्जुन नगरपालिका-४ बाफल महाडोल बसोबास गर्ने ५० वर्षीया महिला काम गर्ने क्रममा यही फागुन २ गते अचानक इनारमा खसिन् । विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट उद्दार सामग्रीसहित खटिएको प्रहरी टोलीले करिब १ सय फिट गहिरो इनारबाट महिलालाई सकुशल उद्दार गरी उपचारको लागि मनमोहन अस्पताल पठायो ।
यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-३ नबिनटोल बस्ने दोलखाकी २८ वर्षीया महिला गत माघ १ गते आफ्नै घर परिसरमा रहेको करिब ३० फिट गहिरो ईनारभित्र खसेको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीसहितको उद्दार टोलीले सकुशल उद्दार गरी थप उपचारको लागि पाटन अस्पताल लग्यो ।
यी दुई वटा घटना उदाहरणमात्र हुन् । यसरी विपद्मा परेका व्यक्तिको उद्दार गरिएका घटना धेरै छन् । भूकम्प, बाढी, पहिरो र भूक्षय, हावाहुरी, आगलागी, चट्याङ, शीतलहर, सवारी दुर्घटना, विमान दुर्घटना, औद्योगिक दुर्घटना, पशु आतंक आदि जस्ता विपद् आइपरेको अवस्थामा नेपाल प्रहरी सक्रिय रूपमा उद्दारमा जुट्ने गरेको छ । यसका लागि विपद् व्यवस्थापन कार्यालयलाई विशेष प्रहरी इकाइको रूपमा स्थापना गरी विपद्को बेला तत्काल उद्दारमा खटिने गरिएको छ ।
प्रहरीले विपद् व्यवस्थापनमा आर्थिक वर्ष २०७८/०७९ मा ३५ हजार ५ सय ९७ जना, आर्थिक वर्ष २०७९/०८० मा ४१ हजार ३ सय ६७ जना र चालु आर्थिक वर्षको ७ महिनामा २४ हजार ३ सय १९ जना गरी जम्मा १ लाख १ हजार २ सय ८३ जना जनशक्ति परिचालन गरेको प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९ सय ३१ वटा, आर्थिक वर्ष २०७९÷०८० मा ६ हजार २ सय २९ वटा र चालु आर्थिक वर्षको ७ महिनामा ३ हजार २ सय २४ वटा विपद्का घटना भएका थिए ।
विपद् व्यवस्थापनका क्षेत्रमा क्षमता अभिवृद्धि गरी विपद् प्रतिकार्यमा शीघ्र परिचालन, प्रभावकारी खोज तथा कुशल उद्दार गर्ने नेपाल प्रहरीको मिसन रहेको छ । यो मिसन पूरा गर्न विपद् जोखिम, न्यूनीकरण, खोज तथा उद्धारको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने अर्जुनदृष्टि नेपाल प्रहरीको छ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) भिम ढकाल भन्छन् ‘शान्ति सुरक्षामा अहोरात्र खटिरहने नेपाल प्रहरी विपद् व्यवस्थापन तथा न्यूनीकरण अभियानमा पनि सक्रिय छ । प्रभावकारी तयारी, शीघ्र जनशक्ति परिचालन र कुशल उद्दारका लागि आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँगको समन्वयमा काम गर्ने गरिएको छ । प्रभावकारी खोज तथा उद्दारका लागि आगामी दिनमा दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको छ ।’
यो आर्थिक वर्षमा आगलागीका १ हजार ९ सय २७, पहिरोका ५ सय २३, जनावर आक्रमण २ सय ७७ वटा, अविरल वर्षा १ सय ६९ पटक, बाढी १ सय २४ पटक, भूकम्प ६९ पटक, चट्याङ ६३ पटक, लेक लाग्नु ४५ वटा, हावाहुरी ११ पटक, हिमपहिरो ३ पटक, हिमपात/शितलहर/डुंगा दुर्घटना १-१ पटक र अन्य १० वटा घटना भएका छन् । तीमध्ये धेरै आगलागीका घटना भए । ती घटनामा परेर ३ सय १२ जनाको मृत्यु भएको छ । १ हजार १ सय ११ जना घाइते भएका छन् भने ९ जना वेपत्ता भएका छन् ।
विपद् व्यवस्थापनको लागि प्रहरीले आवश्यक साधन स्रोत र जनशक्तिसहितको छुट्टै इकाइ गठन गरेको छ । विशिष्टिकृत इकाइको रूपमा महाशाखा सामाखुशीले काम गर्दै आएको छ । महाशाखाका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार स्थानीय प्रहरी वा अन्य स्रोतबाट उद्दार गर्न नसकिएका कठिन घटनाहरूमा महाशाखाबाट आधुनिक प्रविधिसहितको उद्दार टोली खटिन्छ र प्रभावकारी रूपमा उद्दार गर्ने गरिएको छ । हाल पालिका, स्कुल, उपत्यकाका प्रहरी युनिटहरूमा सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम र अनुशिक्षण तालिमसमेत महाशाखाले प्रदान गरिरहेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा जाजरकोट लगायतका ठाउँमा गरी ६९ वटा भूकम्पका धक्का महसुस भई १ सय ५५ जनाको दुःखद मृत्यु भयो भने ४ सय ९ जना घाइते भए । तत्काल २ हजार ५ सय ४ जना प्रहरी कर्मचारी उद्दारमा परिचालन भए । यस्ता घटनामा सरकारी तथा गैह्रसरकारी सरोकारवालासँग समन्वय गरी प्रभावकारी खोज तथा उद्दार कार्य गर्ने गरिएको छ । प्रहरी प्रवक्ता डिआइजी ढकालका अनुसार प्रहरीले प्रभावकारी शान्ति सुरक्षाको लागि विपदका घटनाहरुमा तदारुकताका साथ आफ्नो भुमिका निर्वाह गर्दै सबै पक्षको सहयोग, समन्वय र सहकार्यमार्फत जनधनको क्षती न्यूनीकरण गर्दै सुरक्षित समाजको निर्माणमा लागिपरिरहेको छ ।
प्रतिक्रिया