अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ, जो कमै मात्र सार्वजनिक हुने गरेका छन् । यस्तै ब्यथा भोगेकी छन् तेस्रोलिङ्गी महिला माया गुरुङ्गले ।
नेपालमा रोजगारीका अवसर नपाउँदा माया विदेश हानिनु पर्यो, आज भन्दा १६ वर्षअघि । कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब पुगिन् । अरू श्रमिकजस्तै समान काम गरिन् तर ज्याला समान पाउन सकिनन् । त्यति मात्रै होइन, फरक यौनिकता तथा लैङ्गिकता भएकै कारण कामबाट समेत निकालिनुपर्यो उनले।
काम दिने कम्पनीका सञ्चालकले मात्रै होइन, उनको फरक लैङ्गिकतालाई लिएर सहकर्मी साथीबाट पटकपटक यौन दुर्व्यवहारको सिकारसमेत बन्नु पर्यो । मालिकसँग रोइकराइ गरेर लिएको पारिश्रमिक पाकिस्तानी सहकर्मी श्रमिकले लुटेको मायाको स्मरणमा ताजा मात्रै छैन, सम्झेर पिर समेत लाग्ने गरेको छ।
मायाले आफ्नो वास्तविक पहिचान लुकाएरै काम गरिन् साउदी अरबमा । कामकै सिलसिलामा उनको आफूजस्तै एक जना ‘गे’ साथीसँग भेट भयो। साउदीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि कडा कानुन छ । उनले भनिन्,‘पहिचान खुलाएर त परै जाओस्, म यस्तो हुँ भन्दा नै जेल कोच्ने गरिन्छ भनौँ कठोर सजाय भोग्नुपर्छ।’
उनले तेस्रोलिङ्गी हुँ भनेको भए सायद जेल बस्नुपर्ने समेत हुन सक्थ्यो । ‘यदि म यो हो भन्ने बित्तिकै जेलमा लगेर बन्धक बनाउने गर्थे। मसँगैको एक जना साथी भेटे मजस्तै फिलिङ्स भएको’ मायाले भनिन्, ‘उसले म एउटा गे हो भन्दै सबै साथीलाई भनेछ र साथीहरूले म्यानेजरलाई कुरा लाइदिएछन्, उसलाई साहुले प्रहरी बोलाएर थुनामा पठायो।’
देशको अवस्थाले गर्दा माया जस्ता धेरै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय खाडी मुलुक पुगेका छन् । महिला र पुरुषभन्दा बेग्लै फिलिङ्स भएका व्यक्तिहरू अझै पनि विदेश जानु पर्ने बाध्यतामा छन्। ‘बाँचिए नेपाल फर्किउँला घरपरिवार भेटौँला । यदि मरिएछ र बन्धक भइएछ भने मेरा सपनाहरू अपुरो रहनेछ भनेर काम गर्नुपर्थ्यो’ मायाले संक्षिप्त आफ्नो पीडा सुनाइन् ।
घरपरिवारको आर्थिक अवस्था सुधार्नका लागि हातका नङ्ग्रा खियाउँदै अर्काको देशमा काम गर्न पुगेकी मायाले एक पटक त आत्महत्याको प्रयास समेत गरेको उनको भनाइ छ । ‘एक पटक मैले साउदीमै आत्महत्याको प्रयास पनि गरेँ, ’उनले विगत सुनाउँदै भनिन्, ‘झट्टै आफूलाई कठोर बनाइहाले र आत्मबल बढाउँदै अर्को कम्पनीमा काम गर्न सुरु गरेँ।’
उनले एउटा कम्पनीमा मात्रै पीडा भोग्नु परेन, अर्को कम्पनीमा काम गर्न जाँदा पनि उनले त्यही पहिलेको कम्पनीको जस्तै दुर्व्यवहार भोग्नु पर्यो। ‘कम्पनी परिवर्तन गरेर अर्को कम्पनीमा जाँदा पनि फेरि ममाथि हरेसमेन्ट र काम दलाइ एउटै भयो,’उनले भनिन्, ‘न त मलाई नेपाल फर्कनको लागि टिकट नै दिए, मैले जसोतसो गरेर ७ वर्ष काट्नु पर्यो । न खानाको ठेगान, न बस्नको ठेगान घरपरिवारले सन्चै छस् भन्दा सन्चै छु भन्नुपर्थ्यो।’
मायाले १२ वर्षको उमेर आफू तेस्रो लिङ्गी भएको पहिचान गरेकी हुन्। ‘म अरूभन्दा बेग्लै छु भन्ने १२ वर्षको उमेरमा थाहा भएको हो,’उनले भनिन,‘म सानैदेखि केटीको कपडा लगाएर नृत्य गर्ने गर्थे, मेरो उमेर बढ्दै गयो र मलाई महिलाप्रति होइन पुरुषप्रति नै आकर्षण बढ्दै गयो।’
आफ्नो फरक यौनिकता तथा लैङ्गिकताका कारण नेपालमा भोगेको विभेद उनले विदेश पुगेका नेपालीबाट समेत भोग्नुपर्यो। उनी घरपरिवारले जबर्जस्ती महिलासँग विवाह गराइदिँदा मानसिक समस्यामा समेत परेकी थिइन् । उनी घरपरिवारको दबाब झेल्न नसकेकै कारण पनि विदेश पुगेकी थिइन् ।
घर परिवारको एउटा पीडा र विदेशको अर्को तनाव भोगेर मायाले जसोतसो ७ वर्ष साउदी अरबमा काम गरिन् । ‘अरू देशका व्यक्तिले त मलाई हेपे हेपे नेपाली व्यक्तिहरूले पनि मलाई हेप्ने गर्थे,’उनले भनिन्,‘मेरो फिलिङ्स अरूभन्दा बेग्लै भए पनि म यो हो भनेर खुलेर हिँड्न पाउँदिन थिएँ ।’
माया ७ वर्षअगाडि नेपाल फर्किन्। आफ्नो देशमा काम पाउने अवस्था नहुँदा उनले ठेलागाडामा व्यवसाय सञ्चालन गरिन् । ठेलागाडा चलाउँदा पनि मायाले प्रहरी प्रशासनबाटै विभेदको सिकार बन्नुपर्यो। ‘तेस्रो लिङ्गीले ठेलागाडा चलाउने ? भनेर प्रहरीले लखेट्थे,’मायाले भनिन्,‘अरू महिला र पुरुषलाई भने केही गर्दैनथे।’
माया अहिले दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाह गरेर कानुनी रूपमा दर्ता गर्न सफल भएकी छन् । मायाको पहिचान नेपाल संस्था स्थापना गरेर उनी अध्यक्ष बनेकी छन् । संस्था त खोलेकी छन् समुदायका सदस्यहरूलाई सहभागी गराएर । तर, उनले संस्था चलाउनका लागि सहयोग भने कतैबाट पाउन सकेकी छैनन्।
विदेश जाने तेस्रोलिङ्गीले मात्रै होइन समलिङ्गीले पनि भोग्ने पीडा पनि लगभग समान नै छन् । आजभन्दा ९ वर्षअघि कतारको खलिफा शहरमा पुगेका परिवर्तित नाम सुरेश अधिकारीले पहिचान लुकाएरै काम गर्नुपर्यो। उनी ३३ वर्षका भए ।
कतार मुस्लिम देश हो । ज्यानको बाजी थापेर सात समुन्द्र पारी घरको आर्थिक अवस्था सुधार्न पुगेका सुरेशले एक सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गरे। ‘जब पहिलो पटक म मदिना खलिफा सहरमा कामको सिलसिलामा पुगेँ त्यहाँ अन्तर्राष्ट्रिय स्तरको मदिना स्टेडियम बन्दै गरेको थियो,जसको लागि अन्य देशहरूबाट कामदारहरू माग गरिएको थियो, ’उनले भने, ‘म आफैमा एक समलिङ्गी पुरुष भएकोले र कतार जस्तो मुस्लिम देशमा समलिङ्गी तेस्रोलिङ्गी जस्ता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई हेयको भावले हेर्ने हुँदा आफैमा आफ्नो लैङ्गिक पहिचान लुकाएर काम गर्नुपर्ने बाध्यता आयो।’
उनले दुई वर्ष कतारमा काम गरे। तर हरेक दिन बाँचेर पनि मरेको अनुभूति गरिरहे। ‘जहाँ आफ्नो लैङ्गिक इच्छा अनुसार बाच्न र काम गर्न पाउने अधिकार छैन, जसलाई अप्राकृतिक र अपराध मानिन्छ त्यस्तो ठाउँमा सहज र सुरक्षित कसरी महसुस गर्न सकिन्छ ?’उनले प्रश्न गरे।
उनले धेरै व्यक्तिहरू यौन झुकाव, लिङ्ग र लैङ्गिकताका आधारमा हिंसामा परेको सुनाए । हिंसामा पर्दा समेत कानुनी उपचार पाउन नसकेका कतिपयले अकालमा ज्यान नै गुमाउनु परेको छ । यस्तो पीडा भोगिरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि सुरक्षित र मर्यादित रोजगारी छैन ।
नेपालमा पढे लेखेका काम गर्न सक्ने उमेर समूहका व्यक्तिहरू रोजगारीका अवसर शून्यप्रायः हुँदा विदेश पलायन हुनु परेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू पनि आफ्नो रोजीरोटीका लागि विदेश पलायन भइरहेका छन् ।
आज भन्दा ६ वर्षअघि साउदी अरब पुगेका परिवर्तित नाम पुकार माझीले माया र सुरेशको जस्तै पीडा भोगे । ‘पहिलो पटक साउदी आए, सुरु सुरुमा न भाषाको ज्ञान थियो न त्यहाँको नीति नियम नै थाहा थियो,’उनले भने, ‘सफाइ कर्मचारीको रूपमा म साउदी अरब रियाद सहरको एक म्यानुफ्याक्चरिङ्ग कम्पनीमा काम गर्न पुगेको थिए।’
तर, उनको हाउभाउलाई लिएर विभिन्न उपनाम सहनु पर्यो। समलिङ्गी पुरुष भएकै कारण काम गर्ने ठाउँमा आनीबानीलाई लिएर छक्का हिजडा समेत भनेको उनले सुनाए। ‘बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का साथै आफ्नै देशका नेपाली मानिसहरूले पनि काम गर्ने ठाउँमा केटीको जस्तो हाउभाउ छ छक्का,हिजडा हो भन्ने गर्थे,’उनले भने,‘साथीहरू माझ मलाई हेरेर कानेखुसी पनि गर्थे।’
उनले बङ्गलादेशी रुम पार्टनरबाट यौन हिंसा समेत भोगेँ। ‘बस्ने ठाउँमा बङ्गलादेशी रुममेटबाट यौन शोषणमा परेको छु, किन कि साउदी एक यस्तो देश हो जहाँ महिलाहरूलाई पुरुष सरह स्वतन्त्रता छैन र यौन चाहाना पूरा गर्न महिलासँगको पहुँच गाह्रो छ र महिलाको कानुन पनि कडा छ जसले गर्दा लुकिछिपी पुरुषले यौन चाहना मेटाउन पुरुष नै प्रयोग गर्ने गर्दछन्।’
यसकै कारण उनी मानसिक रूपमा समस्यामा समेत परे। ‘कुनै-कुनै बेला त आत्महत्या गर्दिउँ कि भन्ने नआएको पनि होइन एकातिर गाउँबाट साहुको ऋण लिएर परदेश आइयो अर्को तिर काम भने जस्तो छैन र लैङ्गिकताको कारण सहज रूपमा काम गर्ने वातावरण छैन, ’उनले भने, ‘साउदी अरब आफैमा समलिङ्गी सम्बन्धलाई अपराध मान्ने देश हो जहाँ खुलेर म यो हो भनेर हिँड्न सक्ने कानुन छैन।’
उनले समलिङ्गी, तेस्रो लिङ्गी विदेशी कामदारलाई सधैँको लागी आउन नपाउने गरी डिपोर्ट गर्ने गरेको सुनाए । ‘साउदीमा धेरै देशबाट काम गर्ने मानिसहरू आउने हुनाले त्यो देशका मानिसहरू साथै अन्य कामदारहरूबाट पनि मैले विभेद भोगेको छु,’उनले भने,‘आफ्नो यौनिकता र लैङ्गिकता अनुसार काम गर्ने वातावरण त्यहाँ छैन, कसो कसो ज्यानै जोखिममा राखेर ६ वर्ष बाध्यताले साउदी जस्तो कट्टर मुस्लिम देशमा समय बिताएर आइयो।’
मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले देशमा रोजगारीका अवसर नहुँदा कामको सिलसिलामा समुदायका धेरै व्यक्तिको श्रम गन्तव्य खाडी मुलुक हुने गरेको सुनाए। ‘स्वदेशमा काम पाइँदैन, कामका लागि विदेश जानु पर्ने बाध्यता छ,’उपाध्यक्ष केसीले भने,‘विदेशमा थाहा पाउने बित्तिकै कामबाट निकालिदिने मात्रै नभई देश निकालिएपछि स्वदेश फर्किएकाहरूको पीडा सुन्ने कोही छैनन्।’
नेपालसहित विश्वका अधिकांश देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री श्रम अभ्यास भएको पाइँदैन। अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० अभिसन्धि १८९ मा समलिङ्गी तेस्रोलिंगीको अधिकार उल्लेख गरिएको छैन।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले आइएलओ अभिसन्धि १८९ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकको अधिकार सुनिश्चित गरिएको छरछैन सोधे।
सचिव पाण्डेले विदेश गएका समुदायका साथीहरूको पीडा अन्त्य गर्नका लागि ट्रेड युनियनहरूसँग लबिङ गरिरहेको बताए। उनले दक्षिण एसियाली ट्रेड युनियनसँग समुदायले रोजगारीका क्रममा भोग्दै आएको समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको बताए।
नेपाल सरकारलाई यो अभिसन्धि अनुमोदन गर्न दबाब दिँदै आएकी विजया राईले यौनिक तथा लैङ्गिकताको आधारमा श्रममा विभेदको कल्पनै नगरिएको बताइन। ‘समलिङ्गी तेस्रो लिङ्गी शब्द अभिसन्धिमा नपरेको हुनसक्छ,’उनले भनिन्,‘हरेक श्रमिकको अधिकार अभिसन्धिले सुनिश्चित गरेको छ, नेपाल सरकारले अनुमोदन गर्न ढिला गर्नु हुँदैन।’
पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई रोजगारीमा समान अधिकार दिन माग गरे। उनले समुदायका सदस्यका लागि वैदेशिक रोजगार सुरक्षित हुन नसकेको बताए ।
पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय मैत्री श्रम कानुन बनाउनु पर्ने बताए। ‘एक जना तेस्रोलिङ्गीलाई उसको यौनिकताका आधारमा कम्पनीले कामबाट निकालिदिएछ,’उनले भने,‘त्यो देशले पनि निकाला गरे पछि उनी नेपाल फर्किएछन्।’
प्रतिक्रिया