क्यान्सर सहयोग समूहद्वारा एक सय महिला/पुरुषलाई सम्मान

क्यान्सर सहयोग समूहद्वारा एक सय महिला/पुरुषलाई सम्मान


नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको उपचार गराइराखेका र निको भइसकेकाको साथै उनीहरुको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीसमेत सयभन्दा बढी पुरुष र महिलालाई सम्मान गरिएको छ ।

११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले उनीहरुलाई सम्मान गरेको हो ।

‘क्यान्सरको उपचार गराइराखेका र क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरुको ४५ औं भेटघाट’ को कार्यक्रममा अस्पतालकी निर्देशक एवम् नपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले ती सबैलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन्् ।

यसरी सम्मानित हुने पुरुषमा सो अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठदेखि सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, आइटि विभाग प्रमुख डा. दिपक यात्री, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशांक शर्मा, पत्रकार बलराम प्यासीलगायत नर्स र क्यान्सर सर्भाइभरहरु छन् ।

समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले नेपाल क्यान्सर अस्पतालसंग सहकार्य गर्दै विगत १३ वर्षदेखि विपन्न क्यान्सर विरामीको उपचारमा आर्थिक सहयोग जुटाइरहेको तथा मुलुकका विभिन्न ठाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीको टोली लगेर निःशुल्क क्यान्सर शिवीर र जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

‘क्यान्सररोग अरु रोगजस्तै समयमै उपचार गरे निको हुन्छ’ भनेर सन्देश दिन क्यान्सरको उपचार गराईराखेका र निको भईसकेकाहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक तीनपटक र्याम्प शो आयोजना गरिएको कार्यक्रम संयोजक उपाध्यक्ष स्वरुपा श्रेष्ठले बताइन् ।

कार्यक्रमका वक्ताहरुले महिलाको साथ पुरुष र पुरुषको साथ महिलालाई भएमा मात्रै घर÷समाज र देश बन्ने कुरामा जोड दिए । उनीहरुले क्यान्सरका विरामीलाई समयमै उपचारमा ल्याउन क्यान्सरबारे देशव्यापीरुपमा जनचेतना फैलाउनुपर्ने बताउँदै महिलाहरुले आफ्नो स्वास्थ्यमा चासो राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ, सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशांक शर्मा, आइटि विभाग प्रमुख डा.दिपक यात्री, त्रिभुवन विश्वविद्यालयकी सहयाक डीन डा.सोनी बराललगायतले बोलेका थिए भने कविता गौतम, गोमा दवाडी, इन्दिरा प्रधानाङ्गलगायतले कविता वाचन तथा गीत र नृत्य प्रस्तुत गरेका थिए ।