लागूऔषध गाँजाविरूद्ध प्रहरी आक्रामक

लागूऔषध गाँजाविरूद्ध प्रहरी आक्रामक


ट्याङकर, सेफ्टीट्याङ्कदेखि एम्बुलेन्ससम्म ओसारपसार

धादिङको गजुरीबाट लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दीका २९ वर्षीय सन्तोषकुमार साह यही फागुन १५ गते पक्राउ परे । मधेश प्रदेश ०३–००१ख ८३०९ नम्बरको मिनि ट्रकमा कबाडीको सामानभित्र लुकाइ राखेको उक्त गाँजासहित ट्रकका चालक साहलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनको झुरझुरेबाट धनकुटाका ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुका २५ वर्षीय शुसिराम थारू लागूऔषध गाँजा ५ सय ४४ किलोसहित यही फागुन ७ गते पक्राउ परे । यसैगरी धनकुटा भेडेटार चोकबाट को१ख ७३२२ नम्बरको इन्धन बोक्ने ट्याङकरबाट लागूऔषध गाँजा ५ सय ९४ किलोसहित भारत अररियाका ४४ वर्षीय नईम खानसमेत ४ जना फागुन २ गते पक्राउ परे । यस्तै सुनसरीबाट धरान बस्ने २५ वर्षीय सूर्य राई र भोजपुरका २७ वर्षीय लक्ष्मण राई लागूऔषध गाँजा ४ सय ६ किलो ९ सय ४० ग्रामसहित फागुन १ गते पक्राउ परे ।

विगत १५ दिन भित्रै गाँजासहित उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार गाँजाविरुद्ध प्रहरीले आक्रामक कारवाही थालेपछि लागुऔषध गाँजा कारोबारी धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भिम ढकालका अनुसार अवैध गाँजाको कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण प्रहरी सक्रियता नै प्रमुख हो, यसले गाँजा कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा लागूऔषध गाँजा प्रयोगकर्ता, कारोबारी र ओसार पसारमा संलग्न ५ सय १३ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४ सय ५८ जना पुरूष र ५५ जना महिला छन् । तीमध्ये १४ जना १८ वर्ष मुनिका छन् भने ४ सय ९९ जना १८ वर्ष माथिका रहेका छन् ।

पछिल्लो समय गाँजा बोक्न इन्धन बोक्ने गाडी, सेफ्टी ट्याङ्कर तथा एम्बुलेन्सजस्ता शंका नहुने सवारी साधनहरू समेत प्रयोग गर्ने गरेको पाइन्छ । यस प्रति सचेत रहेर प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम तथा कारोबारमा संलग्नलाई कानूनी दायरामा ल्याउन आधुनिक सूचना संयन्त्रको प्रचुर प्रयोग गर्दै नयाँ विधि, प्रविधि र साधन स्रोतको परिचालन गरी विशेष अभियान नै अगाडि बढाएको छ । प्रहरी प्रवक्ता डिआइजी ढकाल भन्छन्, ‘विशेष गरी नवयुवाहरूलाई लागूऔषध गाँजाको कुलतबाट बचाउन सचेतना आवश्यक छ । आफ्ना नानीहरूलाई कुलतबाट जोगाउन अभिभावक र स्कुलको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि नागरिक समाज पनि सम्वेदनशील भएर लाग्नुपर्ने हुन्छ ।’

गाँजा उत्पादन, बिक्री वितरण वा सेवन गरेको थाहा भएमा प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ । पछिल्ला दिनमा प्रविधिको प्रयोग गर्नुको साथै शंका नहुने ठाउँहरूमा पनि पहुँच पु¥याएर लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न प्रहरी आक्रामक रूपमा प्रस्तुत भइरहेको पाइन्छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा ९ हजार ५ सय ७३ किलो २ सय ११ ग्राम गाँजा बरामद भएको छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २० हजार ६ सय ६९ किलो, आर्थिक वर्ष २०७८/०७९ मा ११ हजार ८२ किलो, आर्थिक वर्ष २०७७/०७८ मा ८ हजार २ सय ३४ किलो, आव २०७६/०७७ मा ४ हजार ३ सय ७० किलो, आव २०७५/०७६ मा १० हजार ३ सय ६२ किलोग्राम गाँजा बरामद भएको थियो । तथ्याङ्क विश्लेषण गर्दा आर्थिक वर्ष २०७९/०८० मा सबै भन्दा धेरै गाँजा बरामद भएको देखिन्छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलिया लागूऔषध गाँजा नियन्त्रण गर्न गाँजा खेती फडानी गरी नष्ट गर्ने, स्थानीय पालिकाहरूसँग समन्वय गरी गाँजा खेतीलाई विस्थापित गर्न वैकल्पिक नगदे बाली, फलफूल, तरकारी खेती गर्न प्रोत्साहन गर्ने गरिएको बताउँछन् । उनी भन्छन्, ‘आकस्मिक चेकजाँच, सुराकी परिचालन, विशेष शंकास्पद ठाउँमा निग्रानी, आम नागरिकसँग निरन्तर सम्पर्क र समन्वय गरी सूचना लिने, लागूऔषध कारोबार हुने विभिन्न नाकामा प्रहरी परिचालन गरी गिरोह पक्राउ गर्ने र अनुसन्धान गरी मुद्दा दायर गर्ने गरिएको छ । सँगसँगै सचेतना कार्यक्रमलाई पनि प्राथमिकतामा राखी विभिन्न ठाउँ र समयमा प्रभावकारी रूपमा कार्यक्रम संचालन गर्दै आइरहेका छौं ।’