नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनियताको सपथपछि मन्त्रालय पुगेर पदबहाली गरेका छन् ।
पदबहाली गर्दै उनले सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन उनले डिजिटल प्रविधिलाई अझ बढी प्रभावकारी बनाउने निर्णय गरेका छन् ।
‘बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । यसलाई सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने छौ, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्नेछौँ’, उनले भनेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी वि.सं. २०७५ मा पनि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका थिए ।
वि.सं. २०३२ मा वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गरेका यादव नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँदै राजनीतिमा सक्रिय भएका हुन् । उनी वि.सं. २०४८ सालदेखि नेकपा (एमाले)मा आवद्ध भए भने वि.सं. २०६३ सालदेखि मधेसी जनअधिकार फोरम, नेपालको गठन गरी अध्यक्षको भूमिका निर्वाह गरे । उनी हाल जसपा नेपालको अध्यक्ष हुन् । विस २०६४ को संविधानसभा निर्वाचनमामा सुनसरी-५ र मोरङ-५ बाट र विस २०७० मा सुनसरी-५ बाट निर्वाचित भएका थिए । यादव २०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।
photo: rss
प्रतिक्रिया