महिनामै ९ हजार विदेशिँदै, वर्षेनि १ लाख बढी विदेशिने
- सुरेन्द्र सुवेदी, काठमाडौं
अध्यागमन कर्मचारीको सेटिङमा भिजिट भिषाका नाममा विदेशिने युवाको संख्या थप बढिरहेको छ । विगतमा भिजिट भिषामा विदेशिन १६ वटा बुँदा पालना गर्नुपर्नेमा त्यसलाई हटाएर अहिले ५ बुँदामात्र पालना गर्नु पर्ने नियम बनाएपछि युवाहरूको ठूलो संख्या दैनिक विदेशिँदै छ । अहिले दैनिक करिव ३ सय युवा भिजिट भिषाबाट विदेशिने गरेका छन् । यसरी उनीहरू विदेश जान अध्यागमनका कर्मचारीसँगको सेटिङमा एयरपोर्ट अगाडि रहेका ट्राभल एजेन्सी सञ्चालकहरुले विचौलिया बनेर प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँसम्म लिने गरेका छन् ।
विगतमा भिजिट भिषामा जान एसएलसी उत्तीर्ण हुनुपर्ने, पहिला एक पटक विदेश गएको, विदेशमा आफन्त भएको, बैंक खातामा २ लाख रुपैयाँ बढी रकम भएकोसमेतका १६ वटा बुँदा पालना गरेपछिमात्र भिजिट भिषामा विदेश जान पाइन्थ्यो । ती १६ बुँदा हटाएर अहिले ५ बुँदामात्र पालना गर्दा हुन्छ । अहिले आतेजाते दोहोरो टिकट हुनुपर्ने, होटल बुकिङ गर्नुपर्ने, आफू जाने देशबाट कसैले स्पोन्सर लेटर पठाउनु पर्ने, भिषा लिनुपर्ने र साथमा ५ सय डलर भएमा भिजिट भिषामा विदेश उड्न पाइन्छ ।
यसरी विदेशिने मापदण्ड खुकुलो पार्नु नै नीतिगत भ्रष्टचार भएको र यसले अध्यागमनका कर्मचारीलाई कमाउने ढोका खोलेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी बताउँछन् । ‘भिजिट भिषामा जानेले दोहोरो टिकट काट्नु पर्नेमा जाने काट्ने र फर्कने चाहिँ नक्कली बनाउने गरेका छन्, यसमा अध्यागमनका कर्मचारी र एयरलायन्सका कर्मचारीको मिलेमतो छ’- स्रोतले भन्यो
एयरपोर्ट सुरक्षामा खटिएका प्रहरीहरूका अनुसार दैनिक ३ सय जना युवा भिजिट भिषाबाट विदेश जान्छन् । यो क्रम विगतमा १६ बुंँदा पालना गर्दा वर्षमा करिव ५५ हजार जनासम्म विदेसिन्थे भने अहिले ती बुंदा घटाएर ५ बुँदामात्र राख्दा एक वर्षमा करिव १ लाख १० हजार जना विदेशिने अनुमान गर्न सकिन्छ ।
दैनिक विदेशिने करिव ३ सय जनाले तिर्ने १ लाख ५० हजार रुपैयाँदरमा दैनिक ४ करोड ५० लाख रुपैयाँसम्म अध्यागमनका कर्मचारी, बिचौलिया, एयरलाइन्स कर्मचारीसमेतले दामासाही लिने गरेको स्रोतहरूको भनाइ छ ।
भिजिट भिषामा नेपालबाट युवा पठाएर दुबईमा लगेर त्यहाँबाट युरोपका देशमा युवा बिक्री गरिन्छ । त्यसरी युक्रेन, रुससम्म युवा पु¥याएका कारण नै रुस-युक्रेन युद्धमा १३ जना नेपाली युवाको मृत्यु भइसकेको छ भने अझै करिव १ हजार जना रुसी सेनामा रहेको आँकलन छ । केही युवा बेपत्ता छन् । भिजिट भिषा बन्द गर्ने हो भने नेपाली युवा पश्चिमका देशमा पुगेर मर्नुपर्ने अवस्था नआउने जानकारहरूको बुझाइ छ ।
प्रतिक्रिया