माधवको हातमा बाम गठबन्धनको सत्ता !

माधवको हातमा बाम गठबन्धनको सत्ता !


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूले नचाहेर पनि सरकारमा सामेल हुनुपरेको बुझिएको छ । प्राप्त जानकारीअनुसार माधव नेपाल गठबन्धन बदल्ने पक्षमा हुनुहुन्नथ्यो र, उहाँले पुरानो गठबन्धन भत्किएपछि मात्र जानकारी पाउनुभएको थियो । पहिले नै जानकारी दिँदा माधव सहमत नहुने, बरु गठबन्धन जोगाउन सक्रिय हुनसक्ने ठानेर प्रचण्डले माधवसँग केपी ओली र आफूबीच बन्दै गरेको सहमतिबारे कुनै जानकारी दिनुभएको थिएन । बरु रास्वपाका अध्यक्षलाई यस प्रक्रियामा अलिक अघिदेखि नै सामेल गराइएको थियो ।

काङ्ग्रेससँगको गठबन्धन भत्किएपछि माधव नेपाल प्रचण्डसँग क्रुद्ध बन्नुभएको थियो । उहाँले सरकारमा सहभागिता नजनाउँदासम्म जसपा पनि सरकारमा नआउने स्थिति थियो, त्यसैले जसरी भएपनि माधव नेपाललाई सरकारमा ल्याउनुपर्ने भयो, तर बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने भन्ने प्रश्न सत्तारुढ दलका नेताहरू समक्ष आइपऱ्यो । प्रचण्डले माधवसँग सिधा कुरा गर्ने आँट गर्नुभएन, त्यसनिम्ति नारायणकाजी श्रेष्ठ अग्रसर हुनुभयो ।

श्रेष्ठले नेपाललाई भेटेर पहिलो राउण्ड कुराकानी गर्नुभएपछि दोस्रो राउण्डमा मात्र प्रचण्डसमेतको वार्तालाप भएको थियो । माधवबिना सङ्ख्या नपुग्ने देख्दादेख्दै पनि केपी ओली भने माधवलाई फकाएर सरकारमा सामेल गर्न इच्छुक हुनुभएन । राप्रपालाई नलिने भएपछि माधवलाई लिनैपर्ने हुन्छ भन्दै प्रचण्डले केपीलाई दबाब दिएपछि केपी माधवसँग कुरा गर्न सहमत हुनुभएको बताइन्छ ।

जानकारीअनुसार त्यसपछि मात्र केपीले माधवसँग टेलिफोन सम्वाद गर्नुभएको र उहाँलाई प्रधानमन्त्री बनाइदिने वचनसमेत दिनुभएको छ ।

केपीप्रति माधवको विश्वास नभएपनि केपीले पछिल्ला दिनहरूमा माधवसँग निरन्तर सम्पर्क गरिरहनुभएको छ । एकीकृत समाजवादी पार्टीलाई एमालेमा विलय गराउने र अर्को महाधिवेशनपश्चात् माधवलाई अध्यक्ष बनाउने आश्वासनसमेत केपीले दिनुभएको छ । केपी र प्रचण्डले माधव नेपाललाई घेराबन्दी गर्न झलनाथ खनाल र घनश्याम भुसालको समेत उपयोग गर्नुभएको बुझिएको छ । नेपाललाई प्रचण्ड-केपीको निर्णयमा सहमत गराउन खनाल र भुसालले चर्को दबाब दिनुभएको थियो । यी दुई नेताको दबाबकै कारण माधव नेपाल शेरबहादुर देउवाद्वारा प्रधानमन्त्री बन्न गरिएको हाताहाती प्रस्ताव छोडेर केपी-प्रचण्डको उधारो प्रस्ताव स्वीकार गर्न बाध्य हुनुभएको हो ।

विश्वासको मत लिएलगत्तै पार्टी एकता भनेर माधवलाई एमालेमा भित्र्याउने र त्यसपछि अनुशासनको दाम्लोले बाँधेर राख्ने योजना बनेको बुझिएको छ । माधवलाई बाँध्न सफल भएमा जसपा पनि अड्ने सम्भावना रहने देखिएको छ । यो अवस्थामा बाम गठबन्धनको वर्तमान सरकारलाई बिस्थापित गर्न निकै कठिन हुने गणितीय स्थिति छ । कदाचित माधव नेपाल भड्किनुभयो भने जसपा पनि अर्कै निर्णयमा पुग्ने ठानिन्छ । त्यसैले माधब नेपाल वर्तमान सत्ता गठबन्धनको मुख्य साँचो बन्न पुग्नुभएको छ, तर पार्टी एकीकरण भएर माधव एमालेमै फर्कनुभएमा मात्र माधव नेपालको राजनीतिक स्थिति भीम रावलको भन्दा भिन्न नहुने विश्लेषकहरूको अनुमान छ ।