कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी, करोडबढीको सामान पूर्ण क्षति

कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी, करोडबढीको सामान पूर्ण क्षति


कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा सोमबार साँझ एक्कासि आगलागी भएको हो ।

आगलागीबाट ट्रकमा रहेको रु. एक करोड १५ लाख ६८ हजार बराबरको एक हजार एक सय कार्टुुन लाइटर र नगद रु ५७ हजार क्षति भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । क्षतिको अन्य विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

प्रहरी निरीक्षक डाँगीका अनुसार आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट पुलको पूर्वपट्टी रहेका १४ वटा डोरीमा क्षति पुगेको छ । आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासीलगायतले आगो निभाउने काम गरेका छन् । लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको जनकारी दिए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनियर निरज शाक्यले भनेका छन्, ‘मङ्गलबार बिहान प्राविधिक टोली आउँदै छ । क्षति यत्ति नै भएको छ भनेर भन्न सकिने अवस्था छैन । कर्णाली पुलमाथि सवारी आवागमन हाललाई बन्द गरेका छौँ ।’

वीरगञ्जबाट सामान लिएर आएको ट्रकचालक जगनाथ जोशीले बताएका छन्। ‘ट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिएँ । कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टीको भागमा आगो लागेको थाहा पाएँ’, उनको भनाइ छ ।

पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताए । ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी-८ का २४ वर्षीय धिरज जोशी मात्र सवार थिए । दुवैजना सकुशल प्रहरीको नियन्त्रणमा रहेका छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताएका छन् । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : रासस