प्रतिनिसभाको बैठकमा आज विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रतिनिसभाको बैठकमा आज विश्वासको मत लिँदै प्रधानमन्त्री


एमालेको भागमा परेको राष्ट्रियसभाको उपाध्यक्ष अब माधव नेपालको दललाई

प्रधानमन्त्री प्रचण्डले आज (३० फागुन)का लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

तर, राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन फेरियो । त्यसबेला नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए ।

यसैगरी, यही फागुन २१ गते फेरि गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ भने सो दलले विश्वासको मत फिर्ता लिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् । सरकार विस्तारसमेत भइसकेको छ ।

नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् । माधव नेपाल नेतृत्वको नेकपा (समाजवादी)लाई विश्वासमा लिन नेपाललाई प्रधानमन्त्रीको रोलक्रममा राख्ने र राष्ट्रियसभाको उपाध्यक्ष पद दिइने सहमतिसमेत गरिएको छ । यसअघि राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाउने तय गरिएको थियो ।

प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि सम्भावित कार्यसूचीका रूपमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषय समावेश गरेको छ । ‘प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि छलफलपश्चात निणयार्थ प्रस्तुत गरिने’ कार्यसूची तय गरिएको छ ।

file photo: rss