सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन


सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज (चैत्र १) उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । “दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ”, उनले भनेका छन् । जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइने बताए ।

सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए ।