डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् ।
बिहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको छ ।
तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । कार्यपालिका सदस्यहरुले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका हुन् । माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग उनीहरुले गरेका थिए ।
बिहीबारको बैठकमा पनि उनीहरुले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने अवगत गराएको थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका हुन् ।
माओवादी जनप्रतिनिधिका आक्रमणमा परी हाकिमको टाउकोमा गम्भीर चोट लागेको छ । जोशीको टाउकोमा तीन वटा टाँका लगाइएको छ । घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया