सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर मृत्यु

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर मृत्यु


सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कोरियन नागरिक स्वाङको आइल्याण्डपिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेका थिए ।

हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।