व्यवसायीमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक

व्यवसायीमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक


रौतहटमा मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ-२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरूले शुक्रबार दिउँसो रौतहटको परोहा नगरपालिका-९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए । शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर०६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एक थान, सात दशमलव ६२ एमएमको अर्धस्वचालित पेस्तोल एक थान, त्यसैको म्याग्जिन एक थान र पाँच राउण्ड गोली बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।

गोली लागी घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उनको आँखामा समस्या देखिएपछि आज तिलगङ्गा आँखा अस्पताल काठमाडौंमा ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ ।

photo: rss