चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण

चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण


म्याग्दीका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर जिल्लाको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।

बेनी-जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुऱ्याउने लक्ष्य छ । पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले रु १५ लाख २७ हजार सहयोग रकम जुटेको र रु १४ लाख ७७ हजार तीन सय ३३ खर्च भएको जानकारी दिएका छन् ।

‘स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो, सहयोग रकमबाट निर्माण सामग्री खरिद गरेर स्थानीयवासीको श्रमदान जुटाएर दुई किलोमिटर पक्की सिढीसहितको पदमार्ग निर्माण गरेका छौँ’, उनले भनेका छन् ।

दाहसंस्कारका निम्ति शव घाटमा लैजाने पदमार्ग जीर्ण र जोखिमयुक्त भएकाले वडा कार्यालयसँग समन्वय गरेर गत पुसदेखि पदमार्ग निर्माण अभियान सञ्चालन भएको थियो । पदमार्ग निर्माणका लागि एक घरबाट पाँच दिनसम्म श्रमदान गरिएको निर्माण समितिका सचिव रवीन्द्र शर्माले बताए । उनले पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले निरन्तर श्रमदान गरेको र गाउँका आमा समूहहरूले दैनिकरूपमा निःशुल्क खाजाको व्यवस्था गरेको जानकारी दिए ।

गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरूका लागि पदमार्ग निर्माण खटिएका युवाहरू उदाहरण बनेको रघुगङ्गा गाउँपालिका-२ का वडाध्यक्ष अमृत भण्डारी बताउँछन् । पदमार्गलाई विस्तार गरेर वडा कार्यालय पुऱ्याउन चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।

तस्बिर : रासस