आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ


माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् । साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन् । यसअघि प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो । आरतीका पति मोतिबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा फेला परेकी थिइन् । आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा उहाँको हत्या भएको दाबी गर्दै सासू, ससुरा, श्रीमान्, देवरलगायतविरुद्ध जाहेरी दिएको थियो । सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा पति मोतिबाबु र ससुरा मदनमोहनमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो । आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौंमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

पछि सर्वोच्च अदालतले भने श्रीमान् मोतिबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो । आन्दोलनरत साहका माइतपक्षसँग केही दिनअघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मार्फत घटनाको पुनःअनुसन्धान गर्नेलगायत पाँचबुँदे सहमति गरेको थियो ।

file photo