बदलाको भावनाले दुई जनाको हत्या गर्ने दुई अभियुक्त पक्राउ

बदलाको भावनाले दुई जनाको हत्या गर्ने दुई अभियुक्त पक्राउ


  • आरपी उपाध्याय, प. नवलपरासी

पश्चिम नवलपरासीको सुस्तामा धारिलो हतियार प्रयोग गरि हजुरबुवा र नातिको हत्या गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

सुस्ता ३ मर्चहवामा गत फागुन १ गते बिहान ५ः३० को समयमा हजुरबुवा अक्षयलाल चमार र नाति गौचरण चमारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय (ब.स.प.) का सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिएका छन् ।

सुस्ता ३ मा घटना घटेलगत्तै प्रहरी उपरीक्षक काजीकुमार आचार्यको नेतृत्वमा खटेको टोलीले मृतक अक्षयलाल चमारको घरअगाडि १० मिटर पश्चिमतर्फ नाति गौचरणको शरीरमा धारिलो हतियार प्रयोग गरि हत्या भएको घटनास्थलमा हातमा लगाएको पन्जा फेला परेको थियो । हजुरबुवा र नातिको हत्या भएको घटनापछि तालिम प्राप्त कुकुर परिचालन गरि सिबिआईको प्रहरी टोलीले समेत हत्याको अनुसन्धान गरेको पत्रकार सम्मेलनमा बताइयो ।

सुक्ष्म ढंगको अनुसन्धानपश्चात् सुस्ता ३ मर्चहवा बस्ने वर्ष २९ को अजय धरिकार र सोही ठाउँ बस्ने वर्ष २० को चन्दन हरिजनको संलग्नतामा घटना घटेको खुल्न आएपछि घटनामा संलग्न व्यक्तिलाई चैत्र ३ गते पक्राउ गरि इलाका प्रहरी कार्यालय बेलाटारीमार्फत जिल्ला अदालत परासीबाट ज्यानसम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटना विवरणअनुसार माघ २६ गते प्रतिवादी मध्येका चन्दन हरिजन, सुस्ता ३ मर्चहवा बस्ने छिमेकी गाउँलेसङ्ग भएको झगडाउपर इप्रका बेलाटारीमा उजुरी परेपश्चात् छलफलपछि मिलापत्र भएको थियो । सोही घटनाको रिसइबी साध्न चन्दन हरिजनले आफ्नो मिल्ने साथी अजय धरिकारसङ्ग मिली बदला लिने योजना बनाएका थिए ।

उक्त योजनाअनुसार सिमापार भारतिय बजारबाट धारिलो हतियार चक्कु खरिद गरि ल्याएको पनि पत्रकार सम्मेलनमा बताइयो । हजुरबुवा अक्षयलाल चमारको हत्या भएपछि सँगै सुतेका नाति गौचरणले देखेकोले आफू चिनिने डरमा हत्यारा समुहले नातिउपर पनि साङ्घातिक हमला गरेका थिए ।

हमलाको क्रममा हत्याराहरुले आफूले लगाएको हातको पन्जामध्ये बायाँ हातको पञ्जा घटना स्थलमा छुट्न गएकोले सोही पन्जाको आधारमा प्रहरीले ३५ दिनको गोप्य अनुसन्धानपछि हत्यारालाई नियन्त्रणमा लिएको बताइएको छ ।

लामो समयको अनुसन्धानपछि नवलपरासी प्रहरीले हजुरबुवा र नातिको हत्यारालाई पक्राउ गरेको घटनाले हत्याको पेचिलो गाँठोलाई फुकाउन सफल भएको हो