टेलिकमका बहालवाला इञ्जिनियर ठेकेदारीमा, अख्तियारद्वारा भ्रष्टाचार-मुद्दा दायर

टेलिकमका बहालवाला इञ्जिनियर ठेकेदारीमा, अख्तियारद्वारा भ्रष्टाचार-मुद्दा दायर


नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इञ्जिनियर सिटौलाले कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार-व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिइ प्रतिनिधिका रूपमा काम गर्नुका साथै सो ठेकेदार कम्पनीको प्रतिनिधिका रूपमा हस्ताक्षर गरेको पाइएको छ । सो कार्य कानुनद्वारा वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।

सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट रु ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक लिएको तथा मुनाफाबाट रु एक करोड १६ लाख दुई हजार पाँच सय चार बराबरको भ्रष्टाचार गरेको पाइएको छ । आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।