आठ प्रकारका औषधि सेवन गर्दैआएको भन्दै महराले गुहार मागेपछि…

आठ प्रकारका औषधि सेवन गर्दैआएको भन्दै महराले गुहार मागेपछि…


पूर्वसभामुख महरालाई चार दिन नर्भिक अस्पतालमै राखिने

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न स्वीकृति दिएको छ ।

चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै बिरामीका कारण उल्लेख गरी अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको व्यवस्थापन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । बोगटीका अनुसार महरालाई नर्भिक अस्पतालमा राखिने छ ।

नेता महराले आफूले आठ प्रकारका औषधि खाइरहेकाले अस्पतालमा बस्न दिन माग गरेको र सोही आधारमा अस्पतालमा राखेर अनुसन्धान गर्न भनिएको हो । सुन प्रकरणको अनुसन्धानका लागि महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनको म्याद पाएको थियो । अब महरा चारै दिन अस्पताल बस्न पाउने भएका छन् । उनलाई आज (सोमबार) बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पनि उनमाथि अनुसन्धान गर्ने सिफारिस गरेको थियो । यसअघि नै सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको अवस्था छ ।