बन्दीपुरमा भेटियो नयाँ गुफा

बन्दीपुरमा भेटियो नयाँ गुफा


पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका-२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो ।

बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो ।

नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको छ । अध्यक्ष थापाका अनुसार बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा उक्त स्थानमा पुग्न सकिन्छ । कालोपत्र सडकबाट करिब दुई सय मिटर दूरी पैदलयात्रापश्चात् गुफामा पुग्न सकिन्छ ।

मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले तत्काल यहाँ सङ्केत चिन्ह (बोर्ड) राखेर प्रचारप्रसार गर्नुका साथै गुफासम्म पुग्ने बाटो निर्माण गर्ने योजना बनाएको छ । गुफाभित्र विभिन्न आकृतिमा कुदिएका ढुङ्गालगायत मनोरम दृश्य देख्न सकिन्छ । साथै करिब ४०÷५० जना क्षमताको गुफाभित्र हलसमेत रहेको जिकिर गरिएको छ ।

तस्बिर : रासस