ऐतिहासिकस्थल किच्चकबधमा फेलापरे पाँच वटा भवनका संरचना

ऐतिहासिकस्थल किच्चकबधमा फेलापरे पाँच वटा भवनका संरचना


  • चिन्तामणि दाहाल, भद्रपुर

झापा जिल्लाको भद्रपुर नगरपालिका-३ मा पर्ने पृथ्वीनगरस्थित ऐतिहासिक तथा धार्मिकस्थल किच्चकबध क्षेत्रमा पाँच वटा भवनका संरचना भएको पुष्टि भएको छ ।

देउनिया खोलाको दक्षिण किनारमा अवस्थित १० बिघा क्षेत्रफलको टिलानुमा स्थलमा साना ठूला गरी पाँच वटा भवनका संरचना पाइएको पुरातत्वविद् उद्धव आचार्यले बताएका हुन् ।

यसपटकको सातौँ उत्खनन्का क्रममा उत्तर-पूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिण अर्को भवन, सोही भवनकै उत्तर-पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम-दक्षिण अर्को बहुतले भवन तथा यी ४ वटा भवनको दक्षिणतिर करीब २ सय फूटको दूरीमा सुरक्षाकर्मीका प्रमुखसहित अरु सुरक्षाकर्मी बस्ने २ तले अर्को भवन गरी पाँच वटा भवनका संरचना फेला परेका छन् ।

ती पुरातात्विक संरचनाको कार्बन परीक्षण लगायतका परीक्षणबाट यो स्थल इशापूर्व शुंग-कुषाणकालमा १ सय २० देखि २ सय इशापूर्व अर्थात् आजभन्दा २ हजार २ सय वर्ष पुरानो स्थल रहेको पुष्टि भएको पुरातत्वविद् आचार्यले बताएका हुन् ।

यो ऐतिहासिकस्थल गुप्तकाल अर्थात् इशाको पाँचौं शताब्दीसम्म कायमै रहेको र यस क्षेत्रमा पाँचौं शताब्दीमा आएको शक्तिशाली भूकम्पले सबै ध्वस्त भएर खण्डहरमा परिणत भएको अनुमान फ्रेञ्च भूगर्भविद् सहितको एउटा टोलीले केही वर्ष अघिको अध्ययन भ्रमणमा गरेको उनको भनाइ छ ।

अब यस स्थलको मूल भवनको उत्खनन् अर्को साल पूरा हुने आशा प्रकट गर्दै पुरातत्वविद् आचार्यले यसपटक गरिएको अझ मुनिको उत्खननमा यसभन्दा अझ अगाडिको कालको पुष्टि हुने संरचनाको संकेत पाइएको पनि बताएका छन् । यो संरचनाले भने यस स्थलको ऐतिहासिकता बुद्धकालभन्दा पनि अगाडि जानसक्ने सम्भावना रहेको उनको कथन छ ।

आचार्यले यसपटक उत्खनन् गरिएको क्षेत्रमा भएका सबै रुख हटाउनुपर्ने, अहिले कायमै रहेको क्लबको हल हटाउनु पर्ने, पुरानो किच्चकबधको मूर्ति स्थानान्तरण गर्नु पर्ने, किच्चकबधस्थलभित्र सवारीसाधनको प्रवेश रोक्नु पर्ने र संरक्षित यस ऐतिहासिक संरचनाको पनि संरक्षण हुनुपर्ने आवश्यकता समेत औंल्याएका छन् ।

वि.सं. २०५८ मा पहिलो पटक यस स्थलको उत्खनन् पुरातत्व विभागले पुरातत्वविद् उद्धव आचार्यकै नेतृत्वमा गराएको थियो । यसपटकको यो सातौं उत्खनन् यही चैत १८ गतेसम्म मात्र गरिने र १/२ दिन यस क्षेत्रलाई प्लाष्टिक छोपेर त्यसमाथि माटोले पुर्न लाग्ने भएकोले अहिलेको उत्खनन् टोली चैत २४ भित्र फर्कने पुरातत्व अधिकृत नवीन अधिकारीले जानकारी दिए ।

यसअघि २०३५ सालमा मेची क्याम्पसका इतिहास विषयका प्राध्यापक घनश्याम खनालको अगुवाइमा इतिहासका विद्यार्थीले उत्खनन् गरेका थिए । त्यसबेला पुराना माटाका भाँडा, लुम्बिनीमा पाइएका जस्ता ठूला आकारका चेप्टा इँटा लगायतका पुरातात्विक सामग्री फेला परेका थिए । सो उत्खननको समाचार त्यसबेलाको गोर्खापत्रमा छापिएपछि चाहिँ किच्चकबध बारे पुरातत्व विभागको ध्यानाकर्षण भएको थियो ।