पुँजीवादको स्वादमा रमाउँदै क्रान्तिकारी नेताका सन्तति !

पुँजीवादको स्वादमा रमाउँदै क्रान्तिकारी नेताका सन्तति !


मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले आफूलाई मात्र क्रान्तिकारी देख्ने र अरु सबै अवसरवादी, संशोधनवादी भएको देखाउने गर्दछन् । जनविद्रोहद्वारा सत्ता कब्जा गर्ने ढ्वाङ फुग्दै हिँड्ने र जनताका छोराछोरीहरुलाई कहिलेकाहीँ राता भेस्ट पहिराएर काठमाडौंको रत्नपार्कतिर कुँदाएका पनि देखिन्छन् । यतिमात्र नभइ अझैपनि उनीहरु हतियार उठाउनुपर्छ भनिरहेका हुन्छन्, तर आफ्ना छोराछोरीहरुलाई भने युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता उनीहरुकै भाषामा ‘साम्राज्यवादी एवम् महँगा पुँजीवादी देश’हरूमा पढ्न पठाइरहेका छन् ।

नेताहरुका ती सन्तति देश नफर्केर उतै घरजम गरी मस्ती गरिरहेका र पुँजीवादको स्वाद मज्जाले लिइरहेका सम्बन्धित दलभित्रैबाट गुनासो गर्ने गरिएको छ । उनीहरूको यो व्यवहार देख्ने जानकारहरुको भनाइ के छ भने क्रान्तिका गफ दिएर जनतालाई ढाँट्ने, भ्रम पार्ने र आफूलाई अब्बल दर्जाको क्रान्तिकारी देखाउने नाटक ती नेताहरु गरिरहेका छन् ।

यसरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ‘क्रान्तिकारी नेता’का छोराछोरीहरु कुन-कुन ‘पुँजीवादी तथा साम्राज्यवादी’ देशहरूमा मस्ती गरिरहेका छन् त ? हेरौं-

अध्यक्ष मोहन वैद्य किरणकी छोरी अस्ट्रेलिया, केन्द्रीय कार्यालय सदस्यहरु- सीपी गजुरेलकी छोरी फ्रान्स, हरिभक्त कँडेल प्रतीककी छोरी अमेरिका, रामसिंह श्रीसका छोरा-बुहारी जापान, सीताराम तामाङका छोरा-बुहारी अमेरिका, इन्द्रमोहन सिग्देलका छोरा-बुहारी अस्ट्रेलिया, परि थापाका छोरा-बुहारी अमेरिका ।

यस्तै, केन्द्रीय सचिवालय सदस्यहरु- धनेश्वर पोख्रेलका छोराबुहारी अमेरिका र नातिनी अस्ट्रेलिया, चक्रपाणी शर्माको छोरा अमेरिका, दुईवटी छोरीहरू अस्ट्रेलिया, केशबहादुर परियारका छोरा-बुहारी अमेरिका, डा. जगदीशचन्द्र भण्डारीका छोरा-बुहारी अमेरिका, हस्तबहादुर केसीका छोरा-बुहारी अमेरिकामा रहेका छन् ।

यसैगरी, केन्द्रीय सदस्यहरु अशोककुमार सुवेदीको छोरा क्यानडा, इन्दिरा अधिकारीकी छोरी अमेरिका, गौरी देवकोटा दाहालकी छोरी अमेरिकामा अध्ययन गर्ने भनेर गइ मस्तीमा रहेका छन् । यता नेपालमा सशस्त्र जनविद्रोह गर्ने भन्दै जनताका छोराछोरीलाई भने अझै पनि बन्दुक बोकाउने कुरा गरिरहेका छन् ।