नेकपा (एमाले)को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणनाअनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका-११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गर्नुभयो । विष्ट र अधिकारीले आ-आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए ।
उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले दुई सय ४२ मत प्राप्त गरे भने पौडेलले दुई सय ३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भएका छन् । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गरे भने मिश्रले एक सय १९ मत प्राप्त गरे। उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी बने । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गर्दा अधिकारलाई एक सय २९ मत प्राप्त भयो ।
सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भएकी थिइन् । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय ६ जनाले गरेका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्ष रहने छ ।
प्रतिक्रिया