उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै


आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (२० चैत) अपराह्न बस्दैछ ।

निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार निर्धारण गर्न बैठक आह्वान गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बैठक हुनेछ । प्रारम्भमा संसदीय बोर्डको बैठक हुने तथा त्यसले उम्मेदवारको टुङ्गो लगाएपछि त्यसलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक हुने बताइएको छ ।

उपनिर्वाचनमा उठाइने उम्मेदवारका बारेमा सोमबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्षनेताहरूबीच छलफल भएको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिसक्नुपर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ ।