कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री बन्नुभएका शर्माले राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए ।

‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो, राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक(पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ’, उनले भने ।

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए । आफूले कार्यकालभर धेरै काम गरेको जिकिर गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए ।