भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन र छात्रावास हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन र छात्रावास हस्तान्तरण


‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित खोटाङको रावा बेँसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवनको उद्घाटन गरिएको छ ।

तीन करोड ६१ लाख ९५ हजार आर्थिक सहयोगमा निर्मित २० कोठा भएको दुईतले भवन र २२ कोठा भएको दुईतले छात्रावासको बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, रावा बेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोगमा दुई तले विद्यालय भवन र छात्रावास भवनको निर्माण तथा दुवै भवनका लागि आवश्यक फर्निचर खरिद गरिएको हो ।

उक्त परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । चार सय ८८ परियोजना सम्पन्न भइसकेका छन् । भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य जारी छ ।

आव २०६६/६७ मा निर्माण सुरु गरिएको विद्यालय भवन र छात्रावास २०७२ सालमा निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भएर सञ्चालनमा आएको आठ वर्षपछि भारतीय दूतावासले औपचारिकरुपमा विद्यालयलाई भवन र छात्रावास हस्तान्तरण गरेको हो । विद्यालय भवन र छात्रावास सञ्चालनमा आएसँगै विद्यालयको पठनपाठनमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक गोपाल बस्नेतले बताउनुभयो । ‘भवन अभाव हुँदा पठनपाठन सञ्चालन गर्न असहज थियो’, उहाँले भन्नुभयो ।

तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा पठनपाठन हुँदै आएको शारदा माध्यमिक विद्यालय भवन २०७२ सालको भूकम्पले जीर्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलाराज बस्नेतले बताउनुभयो । भवन हस्तान्तरण कार्यक्रममा प्रथम सचिव शेखरले विद्यार्थीले व्यवस्थित र सहजरूपमा पठनपाठन गरेर गुणस्तरीय शिक्षा पाउने कुरामा आफू आशावादी रहेको बताउनुभयो । दूतावासले कोशी प्रदेशमा मात्र ८५ विद्यालयलाई सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । कक्षा-१२ सम्म पठनपाठन गरिँँदै आएको शारदा माध्यमिक विद्यालयमा चार सय ६० विद्यार्थी अध्ययनरत छन् । विसं २००९ मा स्थापना भएको विद्यालय तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा सञ्चालन हुँदै आएको थियो । विद्यालयमा २०२८ सालदेखि माध्यमिक तहको कक्षा सञ्चालन भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा स्वर्गीय अम्बरविनोद पोखरेलको छोरीहरु विमला र गीता पोखरेलले बुबाको स्मृतिमा रु ६० हजार रकम विद्यालयलाई उपलब्ध गराउनुभयो ।