कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्नेमा शेखर कोइरालाको जोड

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्नेमा शेखर कोइरालाको जोड


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको धारणा राखेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले मुलुकमा अहिले देखिएको अप्ठ्यारो परिस्थिति अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेकोमा जोड दिए ।

प्रत्येक वर्ष सङ्घीय र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको बाहेक अन्य विकल्प हुन नसक्ने उनले बताए । नेता डा. कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको विगत स्मरण गरे ।

उनले कांग्रेस र एमालेको संयक्त सरकार निर्माणको पहल आफूले सुरु गरेको चर्चा गर्दै समय आएपछि कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गरे । संयुक्त सरकार निर्माणका लागि नेता, दलबीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने धारणा उनको थियो ।

सङ्घीय सांसद डा. कोइरालाले संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउनु र मुलुकमा राजनीतिक स्थिरता मुख्य आवश्यक्ता रहेको बताए । कोशी प्रदेश सरकार धारा ५ अनुसार निर्माण भएकाले अहिलेदेखि दुई वर्षसम्म कोशी सरकारले विश्वासको मत लिनुनपर्ने तर्क पनि उनले गरे ।

photo: rss