राष्ट्रको पुरानो गौरव फर्काउन राजा ज्ञानेन्द्रको आह्वान्

राष्ट्रको पुरानो गौरव फर्काउन राजा ज्ञानेन्द्रको आह्वान्


पूर्व श्री ५ ज्ञानेन्द्रले आफू जन्मे-हुर्केको थातथलो छोडेर अन्यत्र बसाइँ सर्नुपर्ने, अर्काको देशमा गएर पीडा खप्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभएको छ । प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलङ्गाबाट नेपालीजनलाई सम्बोधन गर्दै उहाँले आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठूलो बल रहेको र अनेकतामा एकता अनि आफ्नो विरासती ऐतिहासिक गौरवप्रतिको आस्था नै हाम्रो ठूलो पूँजी भएको कर्णाली सभ्यताले उजागर गरिरहेको बताउनुभयो ।

‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ, आफ्नै भूगर्भभित्र अथाह धनधान्य छ, तर खानका लागि काम खोज्न हामी भौंतारिइराखेका छौँ’- राजा ज्ञानेन्द्रले सम्बोधनका क्रममा भन्नुभयो ।

यस्तो छ पूर्व श्री ५ द्वारा जुम्लाको खलङ्गामा गरिएको सम्बोधनको पूर्ण विवरण-

उपस्थित महिला तथा सज्जनवृन्द,

प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलङ्गामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दनसामु उभिन पाउँदा म गौरव अनुभव गर्दछु । यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता-पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ । साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिब्य धरोहर हो ।

नेपाल राष्ट्रको एकीकरण हुनुअघि बाइसे-चौबीसे राज्य चरणमा पनि जुम्ला, सिंजा सम्यताको केन्द्रस्थलको रूपमा रहेको इतिहास छ । चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलङ्गामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ ।

अनेकौँ अग्ला चूचुरा, भीर, पाखा, खोंच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला, कर्णाली, तिला र सिंजा नदीद्वारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ । नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोटसम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र खेतीपाती, भेडा, चौरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रह्यो । कालो मार्सी धान, स्याउ, ओखर, केसर र अनेक प्रकारका वागवानी तथा वन्य-वनस्पतिजन्य जडीबुटी जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन् ।

कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खोँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ- हामी यहाँका वासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ट र परस्परमा अत्यन्त आत्मीय छौँ । आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठूलो बल हो । अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरवप्रति आस्था नै हाम्रो ठूलो पूँजी हो । कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ ।

आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ, आफ्नै भूगर्भभित्र अथाह धनधान्य छ तर खानका लागि काम खोज्न हामी भौंतारिइराखेका छौँ । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर ख्वै ? त्यसैले म भन्छु- अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौं, देश बनाउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।

यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठीनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम शीप र श्रोतको सहि उपयोग जुम्लाले गर्न पाएको छैन । राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ । आफु जन्मे/हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइँ सर्नुपर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ ।

आज, हिजो होइन- हामी आफैं बदलिरहेका छौं । परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैं आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन ।

अब सुध्रौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौं, नयाँ समझदारी, नयाँ सम्वाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।

अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नुहुने तपाईं आयोजकहरू र यसक्षेत्रका उत्साहपूर्ण उपस्थितीका लागि सबैमा धन्यवाद , जय नेपाल ।

file photo