देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : विप्लव

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : विप्लव


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन् ।

सो पार्टीनिकट युवा सङ्गठन नेपालद्वारा आज धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उहाँले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए ।

‘माओवादी मिल्नुपर्छ भन्ने झुपडी/झुपडी र घर/घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ’, उनले भने । समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको उनको भनाइ थियो ।

समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको धारणा राखे । देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने उनको भनाइ थियो ।

‘जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्, हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन’, उनले भने- ‘हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने ६-७ करोड मान्छेलाई खान पुग्छ ।’

file photo