मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण

मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण


सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् ।

मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन् । मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार भारत सरकारको साना विकास परियोजनाको सहयोगमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन जनकपुरधामले निःशुल्क चुल्हो वितरण गरेको हो ।

‘हमरोसबके सुखके दिन आयल, आब सबदिन गोबरक पथरीके धुवाँमे नइ कान परत’ (हाम्रा पनि सुखका दिन आएछन्, अब सब दिन गोबरको पथरी, गुइँठाको धुँवामा रुनु परोइन) मटिहानी-९ सिमरदहीकी अति विपन्न डोम समुदायकी पुनमदेवी मररले भनिन् । पुनमजस्तै मटिहानी-१ धिरापुरकी फुलोदेवी मण्डल, मटिहानी-६ की सजिरा खातुन र मटिहानी-८ की अनिता महराले पनि अब पानी पर्दा, अपर्झट पाहुना आउँदा राहत मिल्ने आश गरेकी छन् । ‘बारिस भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत’ (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला) सजिरा खातुनले भनिन् । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका छन् ।

मटिहानीको अतिविपन्न परिवारलाई ग्यासचुल्हो सो क्षेत्र (महोत्तरी-३) कै प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्तान्तरण गरे । कार्यक्रम आयोजक सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन महन्थ ठाकुरकी स्वर्गीय धर्मपत्नीका नाममा स्थापित संस्था हो । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष डा. मीनाक्षी ठाकुरले आमाका नाममा स्थापित संस्था विपन्न परिवारको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् ।

ग्यासचुल्हो वितरण कार्यक्रममा सांसद ठाकुरले भारत सरकारको उदात्त सहयोगले विपन्न परिवारलाई महत् सहयोग पुगेको बताए । उनले नेपाल-भारत पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्धका मात्र नभइ सुखदुःखका सबैभन्दा नजिकका साथी हुन् भन्नुभयो । कार्यक्रम मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको थियो ।

तस्बिर : रासस