चिनियाँ राष्ट्रपति सी र रूसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी र रूसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता


चीनका राष्ट्रपति सी चिनफिङ र रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बेइजिङमा मङ्गलबार भेटवार्ता भएको छ ।

चिनियाँ राष्ट्रपति सीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष गाँठ मनाइँदै गरेको उल्लेख गर्दै चीन र रूसले विश्व समुदायसँग सुमधुर सहअस्तित्व र सबैको हितका लागि सहकार्यको नयाँ मार्गमा अघि बढेको बताएका छन् ।

यसले दुई देश र त्यहाँका जनता लाभान्वित हुनुका साथै अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायमा बुद्धि भइ शक्ति प्राप्त भएको राष्ट्रपति सीले बताए ।

उनले भनेका छन्, ‘रूसी राष्ट्रपति पुटिन र म चीन-रूस सम्बन्धको सहज र स्थिर विकास सुनिश्चित गर्न घनिष्ठ आदानप्रदानलाई निरन्तरता दिन सहमत भएका छौं । राष्ट्रपति पुटिन र मबीच भएको महत्वपूर्ण सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न दुवै पक्षले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठ तथा चीन-रुस सांस्कृतिक वर्ष मनाउने अवसरलाई सदुपयोग गर्नुपर्छ ।’

राष्ट्रपति सीले रूसको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्गमा हिँड्न, आतङ्कवादविरुद्ध लड्न तथा सामाजिक सुरक्षा र स्थायित्व कायम गर्न रूस र त्यहाँका जनतालाई सहयोग गर्ने कुरामा जोड दिए ।

आफ्नो मुलुकले चीन-रूस सम्बन्धको विकासलाई सधैं ठूलो महत्व दिएको, रूससँग द्विपक्षीय संवादलाई मजबुत बनाउन र ब्रिक्स तथा साङ्घाई सहयोग सङ्गठनमा बहुपक्षीय रणनीतिक समन्वय बढाउन तयार रहेको सीले बताए ।

दुई देशले थप जिम्मेवारी देखाउने, समानता, खुलापन, पारदर्शिता र समावेशिताको भावनामा ‘ग्लोबल साउथ’का देशहरूलाई एकताबद्ध गर्ने, विश्वव्यापी शासन प्रणालीको सुधारलाई बढावा दिने र मानवताका लागि साझा भविष्य सहितको समुदाय निर्माणको सशक्त नेतृत्व गर्ने उनको भनाइ छ ।