सिद्धार्थमा भारतीय कलाकारको चित्र प्रदर्शन

सिद्धार्थमा भारतीय कलाकारको चित्र प्रदर्शन


कलाले सम्बन्ध जोड्छ । यही हेतुका साथ यतिबेला भारतीय कलाकारले काठमाडौंमा चित्रकला प्रदर्शन गरेका छन् ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मंगलबार चित्रकला प्रदर्शनी सुरु गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ग्यालरीमा राखिएका चित्र अवलोकन गरेर प्रदर्शनीको उद्घाटन गरेका थिए । ‘भारतको सामूहिक अभिव्यक्ति’ शीर्षकमा गरिएको प्रदर्शनीमा १२ जना भारतीय कलाकारका अमूर्त शैलीका चित्र राखिएका छन् ।

नेपालमा प्रदर्शनी व्यवस्थापन गर्ने काम हेम रानाले गरेका छन् । उनी नेपाली मूलका भारतीय हुन् । ३० वर्षअघि रोजगारको सिलशिलामा भारतको जयपुर पुगेका हेम आफ्नो परिवारसँग उतै बसोबास गरेका व्यक्ति हुन् । आफू जन्मेको देश निकै सम्झना आउने उनको भनाइ छ ।

जन्मेको देश र कर्म दिएको देश भारतबीच सांस्कृतिक साइनो प्रगाढ पार्ने ध्येयले उनी कला प्रदर्शन गर्न नेपाल आएका हुन् । “मैले नेपाली कलाकारको चित्र पनि जयपुर लगेर प्रदर्शनी गरेको छु, यो कार्य निरन्तर गर्ने योजना बनाइरहेको छु”, उनको भनाइ छ ।

प्रदर्शनीमा अमित कल्ला, सि आर एम्ब्राम, हिम्मत ग्यारी, एमडी सुलेमान, रवि ठाकुरलगायत १२ चित्रकारका चित्र प्रदर्शनीमा छन् । मंगलबार (२७ चैत)देखि सुरु भएको प्रदर्शनी १२ दिनसम्म सञ्चालन हुनेछ ।