शहीदहरुको सम्मान हुन नसकेको देउवाको दुःखेसो

शहीदहरुको सम्मान हुन नसकेको देउवाको दुःखेसो


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्मान हुन नसकेको बताएका छन् ।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका-१३ टिकुलीगढमा निर्माण गरिएको शहीद यादवनाथ आलोकको पूर्णकदको शालिकको बुधबार अनावरण गर्दै शहीदहरु कुनै पार्टीको नभइ देश र जनताको हुने भएकाले शहीदहरुको सबैले सम्मान गर्नुपर्ने धारणा राखे ।

सभापति देउवाले शहीदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको उल्लेख गरे । उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुऱ्याएको योगदानको चर्चा गरे ।

शहीद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा शहीदपत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सारेका चाहना र आङ्काक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरिन् ।

यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएका थिए ।

विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा बहुदलविरुद्धको समूहले गरेको साङ्घातीक आक्रमणमा परी आलोक शहीद भएका थिए । सोही घटनामा रुपन्देहीकै रामप्रसाद चौधरीसमेत शहीद भएका थिए । दुवै जना कांग्रेसका कार्यकर्ता थिए ।

photo: rss