एक पवित्र दृष्टि, जसले देख्यो जाजरकोटमा भत्केको विद्यालय…

एक पवित्र दृष्टि, जसले देख्यो जाजरकोटमा भत्केको विद्यालय…


परोपकारको पवित्रतामा दुरी,समय,जात र रंग हुँदैन, करुणामात्र हुन्छ । परोपकारको धर्मभन्दा माथि अर्को कुनै धर्म छैन । अरुको भर्लाइ सोचेर भावनाबाटै गरिने समर्पित सेवा कार्य वास्तवमा परोपकार हो । जस्तो कि प्रकृतिले फल, पानी, अन्नपात लगायत दिन्छ, त्यसमा प्रकृतिको कुनै स्वार्थ हुँदैन। त्यस्तै निःस्वार्थ प्रेम र वात्सल्यको अनुपम उदाहरण बनेको छ यो बखत बेल्जियमको एनआरएनए ।

गत सोमबार गैरआवासीय नेपाली संघ बेल्जियमले जाजरकोट जिल्लामा भुकम्पले भत्काएको विद्यालय बनाउन च्यारिटी सांस्कृतिक कार्यक्रम सम्पन्न गरि नेपाली नयाँ वर्ष विसं २०८१ आगमनको उत्सव मनाएको छ । अर्थात्, दुर्गम नेपालका बालबालिका पढ्ने विद्यालय भवन निर्माणको लागि सहयोग संकलन गर्ने उद्देश्यसहित बेल्जियममा एक परोपकारी नयाँ वर्ष उत्सवको आयोजना गरिएको हो ।

सो अवसरमा उठेको रकम र सहयोगदाताहरुको नाम पढेर सुनाउनुका साथै सबैलाई बेलुकाको भोजनसमेत गराइएको थियो । प्रस्तुत विवरण अनुसार यस परोपकारी अभियानमा झन्डै एक्काइस युरो सहयोग जम्मा गरिएको छ । बिक्री भएका टिकट र अझै दिन इच्छुकहरुको थप सहयोगसमेत जोडेर हिसाब सार्वजनिक गरिने कुरा आयोजकले जानकारी गराएका छन् ।

राज्यको समेत आँखा नपुगेको अर्थात् राजधानीले उति महत्व नदिएको दुर्गम गाउँ कर्णाली जाजरकोटका नानीबाबुहरुको विद्यालय निर्माणको लागि दानदाता संघसंस्थाहरुले मन खोलेर सहयोग अर्पण गरे । सिंहदरबारको दृष्टि नपुगिरहेको दुर्गम अँध्यारो कुना बेल्जियमका नेपालीहरुका नजर परे । चितवन क्याटको स्थापना गरेर सयौँ पीडितहरुको अनुहारमा खुशी ल्याएकी सीता सापकोटा लगायतको ज्योति जाजरकोटमा भूकम्पले भत्केको भग्नावशेषसम्म पुग्यो । त्यसैले त आज त्यो दुर्गमका बालबालिकाहरुले आफ्ना काकाकाकीहरुको वात्सल्य पाए।

कार्यक्रम दृष्यले भन्दा प्रेम र करुणाले भब्य बन्यो । च्यारिटी शो मा काशी दनैद्वारा प्रस्तुत विद्यालयको तस्बिरर देखेर उपस्थित सबैका आँखा अगाडि आफ्ना नानीबाबुहरुको अनुहार बिम्ब बनेर आयो । करुणाले सबैको मन भरियो र आयोजक तथा दानदाता सबैले सामुहिक धन्यवाद प्राप्त गरे । धन्यवाद मात्र प्राप्त नगरी आत्मिक आनन्द र पुण्य पनि प्राप्त गरे। अब सायद भवन बन्नेछ, बाबुनानीहरुलाई शिक्षामा केही राहत हुनेछ र त्यो देख्न एकपटक परोपकारमा होमिएका पवित्र आत्माहरु त्यहाँ पुग्ने छन्।

जीवन छोटो छ। छोटो जीवनमा निरीह र पीडितहरुको सेवा गर्दा, उनीहरुलाई आफ्नो गास काटेर थोरै भएपनि राहत अर्पण गर्दा आत्मामा अनुपम सन्तुष्टि प्राप्त हुन्छ । ‘मैले आज केही राम्रो गरेँ’ भन्ने भावले मन चङ्गा हुन्छ। आफ्ना देशका पीडित छोराछोरीहरुको करुणाले समर्पित सहयोग कहीँकतै हिनामिना नभइकन सदुपयोग होस् भन्ने असीम चाहना हुन्छ।

स्वाभाविक हो यस सानो परोपकारको पनि महिमा महान् छ । त्यसैले त यस अभियानलाई परोपकारको दिशामा उचाल्ने एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, यस यज्ञलाई अगाडि बढाउने अभियानका संयोजक योगेन्द्र श्रेष्ठ लगायत सम्पूर्ण परोपकारी हातहरुलाई बेनेलक्सका राजदूत गेहेन्द्र राजभण्डारीले आत्मिक भावना पोखेर प्रेमिल धन्यवाद दिए । संचालकद्वय राजेन्द्र कार्की र एडिना केसीले यस यज्ञको अगाडि उभिएर आफूलाई गर्वानुभूति गरे। अतिथिहरुले महायज्ञको वेदिका हातमा लिएर परोपकारको लागि उपस्थित भएको कर्तानुभूति गरे।

सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ नेपालका विजेता गायक किरण गजमेर र स्थानीय कलाकारहरु लाहुरे कान्छा, बलराम पुन लगायतले सबैलाई आफ्ना शब्दका मञ्जरी प्रस्तुत गर्दा सबै परोपकारी मनहरुले आनन्दको रस पिए ।

अन्तमा एक करुणा, हजारौंमा समर्पित मन र परोपकारी चित्त बोकेर तीर्थालुहरु बेलुका अबेर घरतिर लागे । सँधै प्रेम र करुणा समर्पित गर्ने दिन आउँदैन। परोपकार करुणाको क्षितिजबाट उदाउने परमात्माको ज्योती हो। यसको शुरुवात पनि प्रेम हो, वात्सल्य हो र परोपकार हो । त्यही परोपकार नै हाम्रो परमार्थी धन हो। विक्रमको नयाँ वर्ष २०८१ को सम्पूर्ण नेपालीलाई उत्तरोत्तर प्रगतिको अथाह शुभकामनासहित सबै परोपकारका ज्योतिहरुलाई नमन ! जय मातृभूमि ।