पेरुका मार्सेलिनो विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको दाबी

पेरुका मार्सेलिनो विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको दाबी


हालैमात्र इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो, तर पेरु सरकारले आफ्नो देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति रहेका र उनी नै विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति भएको दाबी गरेको छ ।

पेरुको दाबीअनुसार मासिको भनेर चिनिने मार्सेलिनो अबाद टोलेन्टिनो नामका व्यक्ति नै विश्वका सबभन्दा धेरै उमेरका ब्यक्ति हुन्, जो पेरुको हुआनुकोको पहाडी क्षेत्रमा बस्छन् । ह्वानुको क्षेत्रको मौसम नै मार्चेलिनोको लामो आयुको रहस्य रहेको पनि बताइएको छ ।

सरकारले विश्वको सबैभन्दा जेठो व्यक्ति हुनुका साथै मार्सेलिनो अहिलेसम्म सबैभन्दा लामो आयु बाँच्ने एकमात्र व्यक्ति भएको प्रेस विज्ञप्तिमार्फत जिकिर गरेको छ ।

‘हुआनुकोको वनस्पति र जीवजन्तुको शान्तिको बीचमा मार्सेलिनोले स्वस्थ जीवनशैली र आन्तरिक शान्ति फेला पारेका छन्, जुन उनको राम्रो स्वास्थ्य र व्यवहारमा झल्किन्छ । त्यसैले उनले आफ्नो जीवनको १२ दशक लचिलोपन र कौशलताका साथ बिताउन सफल भए’, हालै जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हिउँले ढाकिएका पहाडहरू, तातो उपत्यका र अमेजन जंगलहरूका साथै हुआनुको शहर पहाड र हरियो जंगलले घेरिएको छ। पेरुको यो सहरमा रहेका पुरातात्विक भग्नावशेष र मन्दिरहरू हेर्न टाढा टाढाबाट पर्यटक आउँछन्।

सरकारी दाबीअनुसार मार्सेलिनोले अप्रिल ५ मा आफ्नो १२४औं जन्मदिन मनाएका थिए । उनी पेशाले किसान भएको बताइएको छ । उनको जन्म सन् १९०० मा भएको जनाइएको छ । पेरुका अधिकारीहरूले मार्सेलिनोलाई गिनिज बुक अफ ववर्ल्ड रेकर्डसमा नाम दर्ता गराउन सरकारले सहयोग गरिरहेको जनाएका छन् । विज्ञहरूको टोलीले मार्सेलिनोको जन्मसँग सम्बन्धित कागजातहरूपनि जाँच गर्नेछ ताकि यो उपलब्धिलाई कुनै शंका नगरी प्रमाणित गर्न सकियोस् ।

यसबारे न्यूयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार सन् २०१९ मा छागला नामक सानो गाउँमा पहिलो पटक मार्सेलिनोको परिचय खुलाइएको थियो । त्यसपछि सरकारले उनलाई परिचयपत्र र पेन्सन उपलब्ध गराएको थियो । मार्सेलिनोले आफ्नो आहारमा फलफूल र मासु समावेश गरेको बताइएको छ । उनी कोका पात चपाउन पनि मन पराउँछन्।

ज्ञातव्य छ, केही दिनअघिमात्रै इङ्गल्याण्डका जोन अल्फ्रेड टिनिसवुडलाई आधिकारिक रूपमा विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति घोषित गरिएको थियो । जोन १११ वर्षका छन् । सबैभन्दा लामो समय बाँच्ने व्यक्तिको कीर्तिमान उनको नाममा गिनिज बुकमा दर्ता भएको छ ।