महाधिवेशन प्रतिनिधि चयनका लागि यस्तो छ जसपाको कार्यतालिका

महाधिवेशन प्रतिनिधि चयनका लागि यस्तो छ जसपाको कार्यतालिका


जनता समाजवादी पार्टी (जसपा) नेपाले पार्टी विधानअनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार समिति गठन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।

वैशाख ३ गतेभित्र प्राप्त हुन आएका संगठित सदस्यहरुको विवरण मात्र राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि अभिलेख राख्ने निर्णयसो दलले गरेको छ । सङ्गठन विभागले उक्त सङ्गठित पार्टी सदस्यताको अभिलेख तयारीका लागि मिति तोकेर कार्यतालिका बनाएको र, सोअनुसार कार्य गर्नुपर्ने भनिएको छ ।

कार्यतालिकाअनुसार वैशाख १० गतेभित्र सङ्गठन विभागले आवश्यकताअनुसार सङ्गठित पार्टी सदस्यता माथि छानबिन गरी अभिलेख तयार गर्ने, १५ गतेभित्र सङ्गठित सदस्यतामाथि त्रुटी देखिएमा त्रुटी सच्याउने कार्य गरिसक्नु पर्ने, १६ गते सङ्गठित पार्टीसदस्यताको अभिलेख सार्वजनिक गरिने उल्लेख छ ।

यस्तै, वैशाख १७ देखि २० गतेभित्र सङ्गठित पार्टी सदस्यतासम्बन्धी उजुरी गर्नुपर्ने, २५ गतेभित्र सङ्गठित सदस्यतामाथि परेका उजुरीबारे छानवीन गरिसक्नुपर्ने, सङ्गठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण २६ गतेभित्र प्रकाशन गरिने र यही वैशाख ३० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरी सक्नुपर्ने जनाइएको छ ।