‘आवेश र उत्तेजनाले समस्या सुल्झँदैन’ : अध्यक्ष ओली

‘आवेश र उत्तेजनाले समस्या सुल्झँदैन’ : अध्यक्ष ओली


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले कांग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसले आक्रोस र पीडाले जे पायो त्यही बोलिरहेको छ । यसो गर्नु हुन्न । संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई संरक्षण गर्दै अघि बढ्ने कुरा गर्नुपर्छ ।’

सदन अघि बढाउने, चल्ने र चलाउने विषयमा आफ्नै खाले मर्यादा र सीमा रहेको बताउँदै एमाले संसदीय दलका नेता ओलीले पुराना अनुभवका आधारमा कमी कमजोरीलाई सच्याएर जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिलेको सरकारको विधेयक पारित गर्न ध्यान नै थिएन, अहिलेको सरकार भरखर आएको छ । कांग्रेस तर्कमा आउँदैन । उहाँहरु ढिपी र जिद्धीमा जानुहुन्छ । त्यो तरिका सच्याउनुपर्छ ।’

सरकारले अवरुद्ध सदनलाई सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुनाउँदै उहाँले बजेट र विधेयक तयारी, प्रस्तुति र छलफलको कार्यभार भएकाले अवरुद्ध सदनमै मात्रै अल्झिएर बस्ने कुरा नभएको प्रतिक्रिया दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यतिखेर हिउँदे अधिवेशन बन्द हुनैपर्दथ्यो । पन्ध्र दिनको समयावधिपछि बजेट अधिवेशन सुरु हुनुपर्छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यो अघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ ।’

अधिवेशन अन्त्यलाई सामान्यरुपमा लिनुपर्ने र स्वभाविक प्रक्रिया भएको उहाँले बताउनुभयो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफनो पार्टीले राखेको मागलाई बेवास्ता गर्दै चालु सदन अन्त्य निर्णयप्रति असहमति रहेको प्रतिक्रिया दिनुभयो ।

सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय छानबिन समिति गठन होस् भनी नेपाली कांग्रेसले माग गरी आएको जनाउँदै उहाँले सुशासनप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

उहाँले कांग्रेस संसदीय दलले सहकारीको रकम ठगीको विषयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न दृढतापूर्वक उभिने प्रतिबद्धता गरेको समेत जानकारी दिनुभयो ।

photo: rss