नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।
यसअघि बनेका ‘होस्टेलु’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’मा उनको लगानी रहने छैन । उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई चलचित्र बनाउन अनुमति दिएका छन् । यसअघि वि।सं। २०७६ सालमा निर्माता रावल आफैले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए । विविध कारणले उनले चलचित्र बनाएनन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ‘होस्टेल ३’ बनाउनेछ । निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्।
२०७० सालमा रिलिज भएको ‘होस्टेल’लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए । यी दुवै चलचित्र ‘टीनएज ड्रामा’मा आधारित थिए । घरेलु बक्स अफिसमा दुवै चलचित्र सफल भएका थिए।
‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए। उनले यस चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै केही स्टार कलाकारको जन्म हुने सङ्केत गरे । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका सशान कँडेल डेढ दशक देखि गायक र म्युजिक भिडियो निर्देशकको रूपमा सक्रिय छन्। उनले अभिनेताहरू राजेश हमाल, आर्यन सिग्देल, पल शाह, आकाश श्रेष्ठ तथा अभिनेत्रीहरू करिश्मा मानन्धर , पूजा शर्मा, स्वस्तिमा खड्का, आँचल शर्मा, केकी अधिकारी लगायतलाई म्युजिक भिडियोमा निर्देशन गरेका छन् । उनका चर्चित भिडियोहरूमा पुस्पन प्रधानको चर्चित गीत ‘बाबुको जुङो’, राजेश राइको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुखी बनेर’ आदि रहेका छन् । उनले स्वर दिएको गीत ‘एक दिन त जाने हो संसार छोडेर’ निकै चर्चित छ।
‘होस्टेल ३’का लेखक माधव शर्मा एक दशक यता नेपाली चलचित्रमा सक्रिय छन् । रेडियो जक्की हुँदै यस क्षेत्रमा प्रवेश गरेका उनले ‘ए मेरो हजुर ४’, ‘उपहार’ लगायत दर्जन बढी चलचित्रको लेखन समूहमा रही काम गरेका छन् । करिब डेढ वर्ष लगाएर यो चलचित्रको स्क्रिप्ट तयार पारेका शर्माले ‘होस्टेल ३’ आफ्नो लेखन करियरको कोशेढुङ्गा साबित हुने विश्वास लिएका छन्।
‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को प्रोडक्सन सम्हालेका यमप्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य राखिएको चलचित्रका प्राविधिक टिम र कलाकारहरू पत्रकार सम्मेलनको आयोजना गरी चिनाउने तयारी रहेको निर्देशक कँडेलले बताए ।
प्रतिक्रिया