इलाम उपनिर्वाचन : निर्वाचन आयुक्त भण्डारीसहित अधिकारीहरूको टोलीद्वारा अनुगमन

इलाम उपनिर्वाचन : निर्वाचन आयुक्त भण्डारीसहित अधिकारीहरूको टोलीद्वारा अनुगमन


निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका उच्चपदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप–निर्वाचन इलाम क्षेत्र नम्बर २ को अनुगमन गरेको छ ।

उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्तिसुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त भण्डारी, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, नेपाली सेना युद्ध कार्य महानिर्देशनालय उपरथी प्रेमध्वज अधिकारी र प्रमुख सेनानी मणिराम थापा समेतको टोलीले अनुगमन गरेको हो ।

उच्चपदस्थ अधिकारीहरूको उक्त टोलीले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, निर्वाचन व्यवस्थापनको तयारी, दल तथा उम्मेदवारहरूको चुनावी कार्यक्रम र जिल्लाको वस्तुस्थिति बारेमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा अन्तरक्रियासमेत गरेको थियो ।

उक्त अवसरमा निर्वाचन आयुक्त भण्डारी र गृह सचिव अर्यालसमेतबाट निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न गराउन, सम्पूर्ण दलहरूको इलाम केन्द्रीत गतिविधिका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीलाई रोक्न निरन्तर समन्वय, सहकार्य गरी उपनिर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन् ।