देशभक्त/राष्ट्रवादी नेपालीहरूको एकीकरण अभियानमा ‘नागरिक शक्ति, नेपाल’

देशभक्त/राष्ट्रवादी नेपालीहरूको एकीकरण अभियानमा ‘नागरिक शक्ति, नेपाल’


देशको एकता, राष्ट्रियता, स्थायित्व, सुशासन र समृद्धिको निम्ति क्रियाशील रहँदै आएको ‘नागरिक शक्ति, नेपाल’ले अभिभावकीय राज्य व्यवस्था, मौलिक धर्म-संस्कृतिको संरक्षण तथा सोही आधारमा देशको पहिचान, निःशुल्क शिक्षा, स्वास्थ्य, सुरक्षा र न्याय, जनमुखी कर नीति र ट्रेड युनियानिज्मको अन्त्य जस्ता आफ्ना प्रतिबद्धतालाई दोहोऱ्याएको छ ।

सो पार्टीको अग्रसरतामा हालै राजधानी काठमाडौंमा आयोजित देशभक्त/राष्ट्रवादी नेपालीहरूको एकता/एकीकरण यात्रासम्बन्धी विशेष कार्यक्रममा उल्लिखित प्रतिबद्धताबारे प्रष्ट्याइएको हो । समन्वय, संवाद, सहमति र दबाबलाई कार्यनीति बनाएको नागरिक शक्तिले मुलुकमा बहुदलीय संसदीय प्रणाली लागु गरिनुपर्ने, जातिय नभइ वर्गीय आधारमा आरक्षण (शैक्षिक र आर्थिक)को व्यवस्था हुनुपर्ने, भ्रष्टाचार तथा बलात्कार जस्ता अपराधमा मृत्युदण्डसम्मको कानुनी व्यवस्था, स्थानीय र केन्द्र मजबुत भएको (दुई तहको) सरकार रहने सङ्घीयता, निर्वाचन प्रणालीमा सुधार, युवाशक्तिलाई रोजगारीको सुनिश्चितता, उच्चतहको व्यवसायिक वातावरण, जनताको खुशीलक्षित विकास जस्ता नीतिको वकालत गर्दै आएको छ ।

यस्तै, बिक्री भएका औद्योगिक प्रतिष्ठानहरूको पुनःस्थापना र सञ्चालन, पूँजी पलायनमा नियन्त्रण, राष्ट्रिय पूँजीको विकाश, प्रकृति र वातावरण संरक्षणमा निर्मम नीति र व्यवहार, जनमैत्री एवम् सेवामुखी कर्मचारी प्रशासन, राष्ट्रहितकेन्द्रित सन्तुलित परराष्ट्रनीति र व्यवहार, अखण्डित सार्वभौमिकताको पक्षमा पार्टी प्रतिबद्ध रहेको जनाइएको छ ।

उपरोक्त नीतिलाई राजनीतिक तहबाट व्यवहारमा उतार्नका लागि ‘नागरिक शक्ति, नेपाल’ले पछिल्लो चरणमा राष्ट्रकेन्द्रित राजनीतिक शक्ति निर्माणको एजेण्डालाई अघि बढाएको छ । यस एजेण्डामा सहमति जनाउँदै विभिन्न दल, संघ-संस्था तथा समूहविशेषका व्यक्ति-व्यक्तित्वहरू सम्मिलित कार्यक्रम हालै आयोजना गरिएको थियो । सो अवसरमा ‘नेपाल जनता पार्टी’का सुरेन्द्रकुमार जोशीलगायतका दर्जनौँ राष्ट्रवादी राजनीतिक कार्यकर्ता, समाजसेवी/अभियन्ताहरूले नागरिक शक्ति पार्टीमा अवद्धता जनाए ।

देशभक्त/राष्ट्रवादी नेपालीहतको एकीकरण नाम दिइ नागरिक शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीको सभापतित्वमा आयोजित सो समारोहमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजकिशोर यादव, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलालगायत विभिन्न दल तथा अभियानसम्बद्ध व्यक्ति-व्यक्तित्वहरूले अतिथिको रूपमा उपस्थिति जनाउँदै शुभकामना मन्तव्य दिएका थिए । सोही अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नागरिक शक्ति नेपाल प्रवेश गर्नुभएकी सुपरिचित कवि/साहित्यस्रष्टा मञ्जिला अनिललाई स्वागत गरिएको थियो ।

उक्त विशेष समारोहमा कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै नागरिक शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीले नेपालले शान्ति, स्थायित्व र समृद्धि हासिल गर्नुपर्छ भन्ने आमनेपालीको मूल चाहना रहेको तर हाल क्रियाशील दलहरूको प्राथमिकतामा नेपाली राष्ट्रियता, राष्ट्रिय एकता र सुशासन परेको पुष्टि अहिलेसम्म हुन नसकेको बताउनुभयो । इतिहासले एक कालखण्डमा सबै राजनीतिक शक्ति र व्यक्तिले आ-आफ्नो क्षमता र योग्यताअनुसार पुऱ्याएको योगदानको उच्च सम्मान गर्दै आफूहरू राष्ट्रकेन्द्रीत राजनीतिक शक्ति निर्माणमा जुटेको उहाँको भनाइ थियो । मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउन उत्पादनमा जोड दिनुपर्ने र यसका लागि आफ्नै गाउँघरमा बसेर आफ्नो जमिनको सदुपयोग गर्ने कृषकहरूलाई सम्मान र पुरस्कारको व्यवस्था गर्नुपर्ने धारणा राख्दै उहाँले देशमा अवसर नपाएर रोजगारीका लागि विदेशिएका युवा वर्गलाई मुलुकमा फर्काउन पनि यस अभियानले सघाउने तर्क गर्नुभयो ।

सो पार्टीका महासचिव सुभास प्रसाद पाण्डेले समस्यामा डुबिरहेको देशको स्वाभिमान, सार्वभौमिकता, राष्ट्रिय एकता, धर्म-संस्कृति र प्रजातन्त्र जोगाउनका लागि सबै शक्तिहरूको एउटै गन्तव्य एकीकरण अभियान भएको जिकिर गर्नुभयो ।

पार्टीको नयाँ कार्यसमितिसमेत घोषणा गरिएको सो कार्यक्रममा सांसदसमेत रहिसक्नुभएका भिक्षु आनन्दले कार्यसमितिको घोषणा गर्नुभएको थियो भने सनातन संस्कृतिका अभियन्ता मोहन लामा रुम्बाद्वारा कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो । पार्टीका महासचिव होमप्रसाद ढकालबाट धन्यवाद मन्तव्य दिइएको समारोहको सञ्चालन एल्सा झा र दिलिप तामाङले गर्नुभएको थियो ।