मोहम्मद आफताव आलमलाई अन्ततः जन्मकैदको फैसला

मोहम्मद आफताव आलमलाई अन्ततः जन्मकैदको फैसला


पूर्वसांसद तथा काङ्ग्रेसनेता मोहम्मद आफताव आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले अफतावसहित निजका भाइ महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो ।

रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटनसम्बन्धी घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई जन्मकैद सजाय फैसला भएको हो ।

सोही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अन्य ६ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिएका छन् । गत सोमबारदेखि जारी बहसमा बिहीबारसम्म बादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट नौ जना गरी १२ जनाले बहस गरेका थिए ।

बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा विसं २०७६ कात्तिक १८ गते पूर्वसांसद आलमसहित ११ जनाविरूद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।

विसं २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरफरदवामा भएको बम विस्फोट भएको थियो ।

file photo